रविन भट्टराई

आइतबार, साउन १०, २०८३

विराटनगर । कोशी प्रदेशले नागरिक प्रति जिम्मेवार र राजनीतिमा अनुभवी नेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्रीका रूपमा पाउने भएको छ ।

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसंगै एमाले संसदीय दलका उपनेता समेत रहेका मेन्याङ्बो मुख्यमन्त्री बन्ने भएका हुन् ।

चार दशकभन्दा लामो राजनीतिक अनुभव, निरन्तर संगठन निर्माण, जनसेवा र जिम्मेवार नेतृत्वका कारण नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो अनुभवी राजनीतिज्ञका रूपमा परिचित छन् ।

२०३५ सालमा पार्टी सम्पर्कबाट राजनीतिक यात्रा सुरु गरेका मेन्याङ्बोले २०४५ सालमा पार्टी सदस्यता प्राप्त गर्दै जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक गतिविधिका क्रममा २०४५–२०४६ सालमा राजद्रोहको मुद्दामा झापा कारागारमा उनले जेल जीवन समेत बिताउनुपर्यो ।

२०४७ सालदेखि २०७१ सालसम्म २४ बर्ष नेकपा (एमाले) ताप्लेजुङ जिल्ला पार्टीमा अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै संगठन विस्तार र सुदृढीकरणमा उनले सक्रिय भूमिका खेलेका थिए । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भई संसदीय राजनीतिमा प्रवेश गरेका उनी पाँचौँदेखि एघारौँ महाधिवेशनसम्म महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका छन् ।

२०६२÷०६३ को ऐतिहासिक दोस्रो जनान्दोलनका क्रममा ताप्लेजुङ जिल्लाको नेतृत्व÷संयोजकको जिम्मेवारी सफलताका साथ पूरा गरेका मेन्याङ्बो सांसद् देखि मन्त्री सम्म बन्दा जिल्ला, प्रदेश र मुलुकको विकास र राजनीतिमा सँधै चासो र चिन्ता राख्ने व्यक्ति हुन् ।

२०७५ सालदेखि नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्य रहेका मेन्याङ्बो २०७८ सालमा केन्द्रीय पोलिटब्युरो सदस्य बनेका थिए । हाल उनी पुनः केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा छन् ।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएपछि उनले कोशी प्रदेश सरकारमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री र स्वास्थ्य मन्त्रीका रूपमा २, २ पटक जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका उपनेताको जिम्मेवारीमा रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं