विराटनगर । राजनीतिमा सक्रिए र अनुभवी एमाले नेता तिलकुमार मेन्याङ्बो कोशी प्रदेशको मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ ।
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसंगै एमाले संसदीय दलका उपनेता समेत रहेका मेन्याङ्बो मुख्यमन्त्री बन्ने भएका हुन् ।
केन्द्रीय नेतृत्वले वहालवाला मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिस्थापन गर्दै मेन्याङ्बोलाई नेतृत्व दिने तयारी गरेको छ । अन्तिम निर्णय आज नै हुन सक्ने सम्भावना रहेको एमाले उच्च स्रोतले जनाएको छ ।
एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सत्ता सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम नेपाली कम्युनिस्ट पार्टीको भागमा परेको छ । त्यससंगै कोशीमा सरकार पुनर्गठनको गृहकार्य पनि अघि बढेको छ ।
काठमाडौंमा रहेका मेन्याङ्बोले आफू मुख्यमन्त्री बन्ने सम्भावना निकै बलियो रहेको बताए । अध्यक्ष केपी शर्मा ओलीले कोशीको नेतृत्व परिवर्तनलाई प्राथमिकतामा राखेका छन् ।
ताप्लेजुङ–१ (१) बाट निर्वाचित मेन्याङ्बो प्रदेश संसदीय दलका उपनेता हुन् । कार्की नेतृत्वको पहिलो प्रदेश सरकारमा उनले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
मन्त्रिपरिषद् पुनर्गठनका क्रममा केही समय स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्हालेको अनुभव उनीसंग छ । २०५६ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई उनी राष्ट्रिय राजनीतिमा सक्रिए बनेका थिए ।