भद्रपुर (झापा) । झापामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाका अनुसार बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा अटो चालक तयामुल हकसहित पाँच जना घाइते भएका थिए । घाइतेमध्ये झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखी बिबीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, कन्काई नगरपालिका–७ दुर्गापुर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रदेश १–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी अर्जुनधारा नगरपालिका–९ की ५० वर्षीया मीरादेवी गौतमलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते गौतमलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पठाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी अवाले जानकारी दिए ।
मोटरसाइकल चालक ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ का ३१ वर्षीय गोपाल रम्तेल पनि दुर्घटनामा घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको र सुरुङ्गास्थित स्थानीय मेडिकलमा उपचार गरिएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।