Lite Nepal

बुधबार, कार्तिक २५, २०८३

काठमाडौं । सन् २०२६ मा विश्वव्यापी कार्बन उत्सर्जन ०.४ प्रतिशतले घट्ने अनुमान गरिएको छ । अमेरिका–इरान युद्ध र होर्मुज जलमार्गमा आपूर्ति अवरुद्ध भएपछि बढेको ऊर्जा मूल्यलाई यसको प्रमुख कारण मानिएको छ ।

अन्तर्राष्ट्रिय अनुसन्धान समूह ग्लोबल कार्बन प्रोजेक्टको अध्ययनानुसार, पछिल्लो १० सालमा वार्षिक औसत ०.९ प्रतिशतले बढ्दै आएको जीवाश्म इन्धनजन्य उत्सर्जन यस वर्ष घट्ने देखिएको हो । तेलबाट हुने उत्सर्जन १.९ प्रतिशत घट्ने अनुमान छ । प्राकृतिक ग्यासबाट हुने उत्सर्जन ०.३ प्रतिशतले घट्ने अनुमान छ । कोइलाबाट हुने उत्सर्जन भने ०.६ प्रतिशतले बढ्ने अध्ययनले देखाएको छ ।

नर्वेस्थित सिक्केरो सेन्टर फर इन्टरनेसनल क्लाइमेट रिसर्चका वैज्ञानिक तथा अध्ययनका सहलेखक ग्लेन पिटर्सले उत्सर्जनमा आएको गिरावटलाई सकारात्मक मान्न नसकिने बताएका छन् ।

उनले भने, “यो गिरावट सकारात्मक सुनिए पनि यसको मुख्य कारण इरान युद्ध र होर्मुज जलमार्गमा उत्पन्न परिस्थिति हो । त्यसैले यो एक हिसाबले राम्रो समाचार भए पनि गलत कारणले भएको हो ।”

पिटर्सका अनुसार, एक वर्ष उत्सर्जन घट्दैमा त्यसलाई दीर्घकालीन सुधार वा उत्सर्जनको उच्चतम विन्दु पार गरेको अवस्था मान्न मिल्दैन । त्यसनिम्ति उत्सर्जन बढ्ने क्रम रोकिनु र त्यसपछि निरन्तर घट्दै जानु आवश्यक छ ।

सन् २००९ को विश्वव्यापी आर्थिक मन्दी र २०२० को कोरोना महामारीका बेला पनि उत्सर्जन घटेको थियो । तर, दुवै अवस्थामा अर्थतन्त्र पुनः सञ्चालनमा आएपछि उत्सर्जन फेरि बढेको थियो ।

सौर्य, वायु ऊर्जा र विद्युतीय सवारीसाधनको प्रयोग विस्तारले पनि उत्सर्जन न्यूनीकरणमा योगदान पुर्‍याएको छ । तर, यी प्रयास पर्याप्त नभएको अध्ययनको निष्कर्ष छ । उत्सर्जन घटाउने दीर्घकालीन उपाय स्वच्छ ऊर्जा प्रविधिको तीव्र विस्तार भएको ग्लोबल कार्बन बजेटका सहलेखक पिएरे फ्रिडलिंगस्टेनको भनाइ छ ।

जीवाश्म इन्धनबाट हुने उत्सर्जन घट्ने अनुमान छ । तर, समग्र विश्वव्यापी कार्बनडाइअक्साइड उत्सर्जन करिब एक प्रतिशतले बढ्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं