विराटनगर । भनिन्छ, केही कुरा किताब पढेर भन्दा जीवन भोगेर धेरै सिकिन्छ। जीवनका यात्राले मानिसलाई यस्ता पाठ सिकाउँछ, जुन कुनै पुस्तकका पानामा भेटिँदैनन्। मेरो जीवनयात्राले पनि मलाई यही कुरा सिकाएको छ, अनुभव आफैँमा एउटा ठुलो विश्वविद्यालय रहेछ।
जबदेखि मैले आफ्नो पेसा–व्यवसाय सुरु गरेँ, सिक्ने र बुझ्ने अवसरहरू निरन्तर प्राप्त हुँदै गए। व्यवसायसँगै सामाजिक काममा जोडिँदै जाँदा आफूलाई समयअनुसार अपडेट गर्ने, नयाँ कुरा सिक्ने र समाजलाई नजिकबाट बुझ्ने अवसर पनि पाएँ। कतिपय कुरा सायद मैले किताबमा पढेर कहिल्यै बुझ्न सक्दिनथेँ, तर जीवनले ती कुरा व्यवहारमै सिकायो।
म पेसाले सौन्दर्यकर्मी हुँ। यही व्यवसायमा आबद्ध व्यावसायिक महिलाहरूको नेतृत्व गर्ने गौरवशाली अवसर पनि मैले प्राप्त गरेँ। नेतृत्वको यात्रामा मैले आफ्नो क्षमता, जिम्मेवारी र सीमालाई आफैंले बुझ्ने अवसर पाएँ।
साथसाथै, सहकर्मी र सहयात्रीहरूको विश्वासले नेतृत्व भनेको पद मात्र होइन, जिम्मेवारी, जबाफदेहिता र निरन्तर सिकाइको यात्रा रहेछ भन्ने अनुभूति गरायो। तर नेतृत्व गर्दै जाँदा एउटा कुरा मैले गहिरोसँग महसुस गरेँ, महिलाका लागि नेतृत्वको यात्रा अझै पनि पुरुषका लागि जति सहज छैन।
महिलाले नेतृत्वमा आउन धेरै कुरा व्यक्तिगत रूपमा त्याग्नुपर्छ। घर, परिवार, व्यवसाय, सामाजिक जिम्मेवारी र आफ्नै आकांक्षाबीच सन्तुलन मिलाउँदै अघि बढ्नुपर्छ। मैले पनि यस्तै अनुभव गरेकी छु। कहिले सानी छोरीलाई छोडेर संस्थागत काममा हिँड्नुपर्यो, कहिले सदस्यता विस्तारका लागि विभिन्न ठाउँ पुग्नुपर्यो। त्यससँगै आफ्नो व्यवसायलाई पनि उत्तिकै जिम्मेवारीपूर्वक अघि बढाउनुपर्ने चुनौती थियो।
अनेक अवरोध र बाध्यताहरू पार गर्दै अघि बढ्दा सहज दिनभन्दा अप्ठ्यारा दिन धेरै आए। तर म ती कठिनाइलाई गुनासोका रूपमा लिँदिनँ। किनकि ती कठिनाइ पार गरेर जब हामी नेतृत्वको जिम्मेवारीमा पुग्छौँ, त्यसमा एउटा छुट्टै आनन्द हुन्छ। त्यहाँ पदको भन्दा ठुलो कुरा निःस्वार्थ भाव हुन्छ, आत्मसन्तुष्टि हुन्छ र मनलाई शान्ति दिने एउटा फरक अनुभूति हुन्छ।
तर नेतृत्वको यही यात्रामा एउटा प्रश्न भने बारम्बार मेरो मनमा उठिरहन्छ, संघ–संस्था होस् वा राजनीतिक दल, महिलालाई प्रमुख नेतृत्वमा आउन अझै पनि किन यति धेरै कठिन छ ?
किन एउटी महिला नेतृत्वका लागि अगाडि आउँदा उनको क्षमताभन्दा पहिले उनको पारिवारिक जिम्मेवारीमाथि प्रश्न उठाइन्छ किन उनको नेतृत्व गर्ने इच्छालाई सहज रूपमा स्वीकार गर्नुभन्दा विभिन्न बहाना खोजिन्छ । यसको एउटा कारण पुस्तौँदेखि जरा गाडेर बसेको पितृसत्तात्मक सोच हुन सक्छ।
कार्यक्रमका मञ्चहरू हेर्दा प्रायः पुरुषहरूको बाक्लो उपस्थिति देखिन्छ। महिलाहरूको उपस्थिति भए पनि निर्णायक वा प्रमुख स्थानमा उनीहरूको संख्या अझै न्यून देखिन्छ। यो कुनै एक दिन वा एक संस्थाको समस्या होइन। दशकौँदेखि अभ्यास हुँदै आएको सामाजिक संरचना र सोचले नै यस्तो अवस्था निर्माण गरेको हो।
हामी महिलाहरूले नै एक–अर्काको अस्तित्व र सफलतालाई सहज रूपमा स्वीकार गर्न नसक्नु अझ दुःखद कुरा हो। एउटी महिला सफल हुँदा त्यसलाई आफ्नै समुदायको सफलता भनेर हेर्न सक्नुपर्छ। उनको उपलब्धिलाई आफ्नो हार होइन, सामूहिक जितका रूपमा बुझ्न सक्नुपर्छ।
अर्कोतर्फ, केही संघ–संस्थाका अधिवेशन र नेतृत्व चयनका प्रक्रियाबाट मैले अर्को कुरा पनि बुझ्ने अवसर पाएँ। कुनै महिला आफैं म नेतृत्वका लागि तयार छु भन्दै अगाडि आउँदा उनलाई सहज रूपमा साथ दिने वातावरण अझै पर्याप्त बनेको छैन। बरु कतिपय अवस्थामा उनलाई दोस्रो तहमा सीमित गर्ने, ब्याकअपमा राख्ने वा अवसरलाई पछि सार्ने प्रयास हुन्छ।
अवश्य पनि, कतिपय महिलामा निर्णय लिन हिचकिचाउने वा आत्मविश्वासको कमी हुने अवस्था हुन सक्छ। त्यो कमजोरीको एउटा पक्ष हो। तर यसको अर्थ महिलाहरू नेतृत्व गर्न सक्षम छैनन् भन्ने होइन। नेतृत्व सबै कुरा जानेर सुरु गर्ने विषय होइन, नेतृत्व गर्दै जाँदा सिकिने विषय हो।
सिकेको, जानेको र अनुभवी व्यक्तिले रणनीति तथा कूटनीति प्रयोग गर्न सक्छ। तर म केही गर्छु, मेरो नेतृत्वलाई उदाहरणीय बनाउँछु भन्ने सोच, साहस र इच्छाशक्ति बोकेर अगाडि बढ्ने महिलालाई अवसर दिइयो भने उनले पनि धेरै कुरा गर्न सक्छिन्।
अवसर नदिई क्षमता खोज्नु आफैँमा विरोधाभास हो। सबैभन्दा ठुलो प्रश्न त त्यति बेला उठ्छ, जब कुनै महिलालाई नेतृत्वमा आउनबाट रोक्न घर–परिवार कसले हेर्छ ? भन्ने प्रश्न गरिन्छ।
पुरुषहरू पनि त परिवारबाटै निस्केर नेतृत्वमा पुग्छन्। उनीहरूलाई घरबाट बाहिर निस्कन सम्भव बनाउने, परिवार सम्हाल्ने र उनीहरूको यात्रामा साथ दिने हात प्राय महिलाकै हुन्छन्।
त्यसो भए त्यही साथ महिलाले नेतृत्वमा आउँदा किन नपाउने ?. आजसम्म पुरुषलाई नेतृत्वमा पुर्याउन घरभित्र बसेर महिलाले दिएको योगदान ठुलो छ भने, त्यही साथ महिलाको नेतृत्वमा पनि किन दिन सकिँदैन ? समाजले यो सामान्य सत्य बुझ्न अझै कति समय लगाउने ?
म यहाँ महिला र पुरुषबिच विभाजन सिर्जना गर्न खोजिरहेकी छैन । तर वास्तविकतालाई वास्तविकताकै रूपमा स्वीकार गर्नुपर्छ। सत्य कुरा बोल्दा कसैलाई तीतो लाग्न सक्छ, तर परिवर्तनको सुरुवात कहिलेकाहीँ त्यही तीतो सत्य स्वीकार गरेपछि हुन्छ। प्रमुख नेतृत्वको हकमा कुनै पुरुष अगाडि बढ्दा उसलाई सहजै साथ दिने वातावरण देखिन्छ। तर एउटी महिला त्यही स्थानका लागि अगाडि बढ्दा उनको बाटो सहज बनाउन हामी किन हिचकिचाउँछौँ ?
यसको दोष पुरुषलाई मात्र दिएर हामी उम्कन सक्दैनौँ। महिलाको मौनता पनि समस्याको एउटा ठुलो कारण हो। हामी महिला अधिकार, महिला सशक्तीकरण र समानताको कुरा धेरै गर्छौँ। तर सशक्तीकरणका कुरा भाषण र नारामा मात्र सीमित हुनु हुँदैन। व्यवहारमा पनि एक–अर्काको हात समात्न सक्नुपर्छ।
कुनै महिला राम्रो काम गरिरहेकी छिन्, उनको नाम अगाडि आइरहेको छ, उनको क्षमता देखिएको छ भने उनलाई अझ अगाडि बढाउनुपर्छ। एउटी महिला अगाडि बढ्दा अर्की महिला पछि हट्नु, असुरक्षित महसुस गर्नु, ईर्ष्या गर्नु वा खुट्टा तान्ने प्रयास गर्नु हाम्रो आफ्नै कमजोरी हो।
साथ चाहिएको बेला चुप लागेर बस्नु, सही समयमा आवाज नउठाउनु र बिचमा बसेर सबै कुरा हेरेर मात्र बस्नुजस्तो दुःखद अवस्था अरू के हुन सक्छ ?
हामी महिलाहरूले नै एक–अर्काको अस्तित्व र सफलतालाई सहज रूपमा स्वीकार गर्न नसक्नु अझ दुःखद कुरा हो। एउटी महिला सफल हुँदा त्यसलाई आफ्नै समुदायको सफलता भनेर हेर्न सक्नुपर्छ। उनको उपलब्धिलाई आफ्नो हार होइन, सामूहिक जितका रूपमा बुझ्न सक्नुपर्छ।
त्यसैले अब एक–अर्कालाई रोक्ने होइन, एक–अर्कालाई उठाउने संस्कारको विकास गरौँ। महिलाले काम गर्ने, योगदान दिने र नेतृत्व गर्ने साहसका साथ अगाडि बढौँ। एउटी महिला सफल हुँदै गर्दा अर्की महिलाले ईर्ष्या गर्ने, खुट्टा तान्ने र लडाउन खोज्ने प्रवृत्ति त्यागौँ। साँचो मन र निःस्वार्थ भावले एक–अर्कालाई साथ दिऔँ।
किनकि कसैलाई माथि उठाउँदा आफू तल झरिँदैन। बरु समाजको उचाइ बढ्छ। तर यहाँ अर्को महत्त्वपूर्ण पक्ष पनि छ महिलालाई नेतृत्वमा ल्याउनु मात्र पर्याप्त हुँदैन, सही महिलालाई नेतृत्वमा ल्याउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
हामीले जसलाई नेतृत्वमा छान्छौँ, उहाँ सबैलाई समेट्न सक्ने, सही निर्णय लिन सक्ने, फरक विचारलाई सम्मान गर्न सक्ने, अन्य महिलालाई प्रोत्साहित गर्न सक्ने र संस्थालाई सही दिशामा अघि बढाउन सक्ने क्षमता भएको व्यक्ति हुनुपर्छ।
नेतृत्व पद होइन, जिम्मेवारी हो। नेतृत्व अवसर होइन, विश्वास हो। र त्यो विश्वासलाई परिणाममा बदल्ने क्षमता नेतृत्वकर्तामा हुनुपर्छ। त्यसैले महिला नेतृत्वको बहस केवल महिला नेतृत्वमा आउन पाउँछिन् कि पाउँदिनन् भन्ने प्रश्नमा सीमित हुनु हुँदैन।
महिला नेतृत्वमा आउँदा हामी उनको हात समातेर अगाडि बढाउन तयार छौँ कि छैनौँ ? हरेक महिला आफैँमा एउटा सम्भावित नेतृत्व हो। उसले सही अवसर, सही मार्गदर्शन र सही साथ पायो भने गर्न नसक्ने कुरा धेरै कम छन्। आवश्यकता केवल उसको क्षमतामाथि विश्वास गर्ने वातावरणको हो।
हामीले महिलालाई अवसर दिँदा एउटा व्यक्तिलाई मात्र अवसर दिइरहेका हुँदैनौँ। हामी एउटा परिवार, एउटा संस्था, एउटा समुदाय र अन्ततः समाजलाई नयाँ सम्भावना दिइरहेका हुन्छौँ।
त्यसैले अब समय आएको छ, महिलालाई पछाडि पार्ने होइन, अगाडि बढाउने वातावरण बनाउने। महिलाको सफलतासँग डराउने होइन, त्यसलाई उत्सवका रूपमा स्वीकार गर्ने। महिलाको नेतृत्वलाई शंकाको दृष्टिले हेर्ने होइन, क्षमताको दृष्टिले मूल्यांकन गर्ने।
र सबैभन्दा महत्त्वपूर्ण कुरा एउटी महिला अगाडि बढ्दा अर्को महिलाले उनको हात समात्ने संस्कार बसाल्ने गरौँ । किनकि एउटी महिला अगाडि बढ्नु भनेको एउटी महिलाको मात्र जित होइन। त्यो समग्र महिलाको जित हो ,त्यो समानताको जित हो।