टेक्सास । अमेरिकाको टेक्सासस्थित हार्लिन्जेन आप्रवासन अदालतमा सोमबार २५ जना आप्रवासी बालबालिका न्यायाधीशसमक्ष उपस्थित भए। उनीहरूमध्ये कोही तीन वर्षका थिए भने कोही ६ वर्षका। कतिपयले अदालतको कार्यवाहीको अर्थसमेत बुझ्ने उमेर पार गरेका थिएनन्। तर उनीहरूको भविष्य भने अमेरिकामा बस्न पाउने कि निर्वासनमा पर्ने भन्ने निर्णयसँग जोडिएको थियो।
अदालतमा १३ वर्षीय होन्डुरसका एन्जेल पनि थिए। उनीसँग वकिल थिएन। होन्डुरस फर्किन निकै खतरनाक रहेको र उनकी आमा तथा परिवार अमेरिकामै रहेको उनले बताए। तर न्यायाधीशले उनको भनाइलाई शरणका लागि पर्याप्त आधार मानेनन्। निर्वासनको विकल्पबारे सोध्दा एन्जेल अन्योलमा परे र रुँदै भने, “मेरो कोही छैन। मेरो केही पनि छैन।”

अमेरिकामा दक्षिणी सीमाबाट प्रवेश गरेका सयौँ साथविहीन आप्रवासी बालबालिका अहिले सरकारी आश्रयस्थलमा छन्। उनीहरूले शरणका लागि अदालत र अन्तर्वार्ताको प्रक्रिया आफैँ सामना गर्नुपर्छ। धेरैसँग कानुनी प्रतिनिधित्वसमेत छैन।
अधिकारकर्मी तथा वकिलहरूका अनुसार पछिल्लो समय बालबालिकाका शरणसम्बन्धी अन्तर्वार्ता र अदालतका सुनुवाइ तीव्र बनाइएको छ। लामो समयदेखि बालबालिकालाई कानुनी सहायता दिँदै आएको करिब २० करोड डलर वार्षिक सम्झौता अन्त्य भएपछि कानुनी सहयोगमा समेत कमी आएको उनीहरूको दाबी छ।
अगस्टमा अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको हिरासतमा औसत १ हजार ८८३ आप्रवासी बालबालिका रहेको संघीय तथ्यांकले देखाउँछ। उनीहरूलाई सहयोग गर्न प्रोबारले सञ्चालन गरेको हटलाइनमा अगस्टदेखि २०० भन्दा बढी फोन आइसकेको बताइएको छ।
सानै उमेरका बालबालिकाले अदालतको प्रक्रिया, शरणको दाबी र निर्वासनको कानुनी अर्थ पूर्ण रूपमा नबुझ्ने भएकाले उनीहरूको कानुनी र मानवीय अवस्थामाथि प्रश्न उठिरहेको छ। उनीहरूका लागि यो प्रक्रिया अन्ततः कहाँ बस्ने, कसको साथमा रहने र भविष्य कहाँ बनाउने भन्ने निर्णयसँग जोडिएको छ।