Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

विराटनगर । चाडपर्व नजिकिएसँगै तास खेल्ने क्रम बढिरहेका बेला मोरङ प्रहरीले विराटनगरबाट तास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–६, सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

प्रहरी टोली पुगेपछि पक्राउ पर्ने क्रममा भागदौड हुँदा दुई जना घाइते भएका छन्। भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाले घरको दुई तलामाथिबाट हामफालेका थिए। हामफाल्दा उनको दाहिने खुट्टा भाँचिएको छ। मुखियाको विराटनगरस्थित श्री अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, भाग्ने क्रममा हातमा चोट लागेका ५५ वर्षीय बलराम कोइरालालाई सोमबार बेलुका उपचारका लागि कोशी अस्पताल लगिएको थियो। उपचारपछि अस्पतालले राति नै उनलाई डिस्चार्ज गरेको थियो।

तर, मंगलबार बिहान हिरासतमा रहेका साथीहरूले चिया खान उठाउँदा कोइराला नबोलेपछि उनलाई तत्काल कोशी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था हालसम्म अचेत रहेको र उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

प्रहरीका अनुसार घटनास्थलबाट पक्राउ परेकाहरूको साथबाट तास र नगद ४८ हजार ३ सय ९५ रुपैयाँ बरामद भएको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। डीएसपी मिश्रले अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको नाम तत्काल सार्वजनिक गर्न नमिल्ने बताए।

प्रहरी टोली पुगेपछि भएको भागदौडमा अन्य केही व्यक्तिलाई समेत सामान्य चोट लागेको बताइएको छ। स्थानीयका अनुसार पासवानको घरमा नियमितजस्तै तास खेल्न मानिसहरू भेला हुने गरेका थिए। प्रहरीले भने त्यहाँ बेलामौका मात्रै तास खेल्ने गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं