काठमाडौँ । शरद् ऋतुमा नेपालका १८ हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा ती आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ४७४ पुरुष र १६३ महिला छन् । आरोहण अनुमति प्रदान गरेबापत विभागले रु. २३ करोड ८५ लाख १७ हजार ७९७ रोयल्टी संकलन गरेको छ ।

अनुमति जारी गरिएका हिमालमध्ये सबैभन्दा धेरै आरोहीको रोजाइमा मनास्लु ९८,१६३ मिटर परेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन् । उनीहरूबाट विभागले रु. २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी संकलन गरेको छ ।
विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना र डाँगा हिउँचुलीका लागि दुई टोलीका १६ जनाले अनुमति लिएका छन् । यस्तै, बरुणत्से हिमाल आरोहणका लागि एक टोलीका १० जनाले अनुमति पाएका छन् ।
मकालु, गंगापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमालका लागि पनि आरोहण अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।
विभागले यी हिमालका लागि जारी गरेको आरोहण अनुमतिबाट १५ लाख ६८ हजार ७३४ अमेरिकी डलर अर्थात् रु। २३ करोड ८५ लाख १७ हजार ७९७ आम्दानी गरेको छ ।