काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता तथा कार्यकर्तालाई अनुशासन र निष्ठामा रहन जोड् दिएका छन् ।
अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देह सकिएको औंल्याउँदै भने, ‘अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन । केन्द्रीय कमिटीको बैठकलाई हामीले ’कट–अफ डेट’ मानेका छौँ । अब पार्टीको नीति र अनुशासन विपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ ।’

मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्हरुलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले ’लोकतन्त्रको पुनर्वहाली’ र ’आगामी बैशाखमा हुने स्थानीय निर्वाचनको तयारी’ पार्टीको मुख्य गन्तव्य भएको स्पष्ट पारे ।

उनले नेता–कार्यकर्ताहरूलाई अर्जुन दृष्टि जस्तै एउटै लक्ष्यमा केन्द्रित हुन र ब्रुसलीको एकाग्रता जस्तै सम्पूर्ण तागत संगठन निर्माणमा लगाउन निर्देशन दिए । देशलाई जबरजस्ती पछाडि फर्काउने, संवैधानिक प्रक्रिया मिच्ने र मुलुकमा विध्वंश तथा आतंक मच्याउने प्रयास गरिरहेकाले यसलाई रोक्न पार्टी एकताबद्ध भएर अघि बढ्नु पर्नेमा उहाँले जोड् दिए ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले मुलुकको आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई पछाडि धकेल्ने योजनाबद्ध षड्यन्त्र भइरहेको आरोप लगाए ।
गत वर्ष भदौ २३ र २४ गते भएका घटना, राष्ट्रिय सम्पत्ति र सिंहदरबार लगायतका संरचना, व्यक्तिको घरमाथि भएको आगजनी तथा उत्पन्न गराइएको आतंकप्रति चिन्ता व्यक्त गर्दै उनले भने, – ’गैरसंवैधानिक कदमहरूका कारण देश संकटमा परेको छ । तर, एमालेले देशलाई पुनः लोकतान्त्रिक विधि र संवैधानिक ट्र्याकमा ल्याउन तथा संविधानको रक्षा गर्न दृढतापूर्वक नेतृत्व लिनेछ ।’
