काठमाडौं । सरकारले जारी गर्न सिफारिस गरेका तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेका छन्। बिहीबार साँझ करिब ५ बजे अध्यादेशहरू राष्ट्रपति कार्यालय पुगेका हुन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो।

भोटेकोशी बाढीलाई समेत मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउन लागिएको हो। हाल १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकामा विपद्को सन्दर्भमा उक्त अवधि घटाएर ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था अध्यादेशमा प्रस्ताव गरिएको छ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समावेश गरिएको छ। राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यसमा व्यवस्था गरिएका प्रावधान लागू हुनेछन्।