विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विराटनगर महानगरमा युवा नेतृत्व पाएको छ ।
विराटनगरमा सङ्गठनात्मक नेतृत्वमा युवा नेतालाई जिम्मेवारी दिएपछि नेकपा विराटनगरका नेता कार्यकर्ता पनि उत्साहित भएका छन् ।

पार्टीको मोरङ जिल्ला कमिटीको बैठकले देवा यादवलाई महानगर इन्चार्ज र राजेन्द्र सुवेदीलाई महानगर संयोजकको जिम्मेवारी तोकेको हो ।

पोलिट व्यूरो सदस्यसमेत रहेका युवा नेता वसिम आलम विराटनगर महानगरको प्रमुख समन्वयकर्ता छन् । उनको समन्वयमा विराटनगरमा युवालाई नेतृत्वमा पुर्याउनुको साथै अबको निर्णय र पार्टीको भावी कार्यदिशा तय हुनेछन् ।
आलमसहित हाल नेतृत्वमा रहेका सबै युवा विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा पुगेका हुन् ।
इन्चार्ज यादव यसअघि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सहसचिव निर्वाचित भएका थिए । उनी हाल पार्टीको कोशी प्रदेश सचिवालय सदस्यसमेत छन् ।
विराटनगर महानगर कमिटीको नेतृत्वमा युवा नेताहरूलाई जिम्मेवारी दिइएसँगै पार्टीभित्र नयाँ ऊर्जा थपिने नेता वसिम आलमले बताए ।
संगठन विस्तार, कार्यकर्ता परिचालन र महानगर स्तरमा पार्टीको राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वका लागि प्रमुख चुनौती रहे पनि समयको माग युवा नेतृत्व भएकाले सबैलाई समेटेर अघि बढ्ने इन्चार्ज यादवले बताए ।