काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्यका लागि इरानले अघि सारेका सर्तबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराएको क्रेमलिनले जनाएको छ ।
रुसी सञ्चारमाध्यमका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले इरानका राष्ट्रपतिसँग समन्वय गर्दै पुटिनले द्वन्द्व समाधानका सम्भावित उपायबारे इरानको धारणा ट्रम्पसमक्ष प्रस्तुत गरेको बताएका छन् ।

यसैबीच, ट्रम्पले शुक्रबार आगामी केही महिनामा रुसलाई १० लाख टनभन्दा बढी डिजेल निर्यात गर्न दिने सहमति पुटिनसँग भएको बताएका थिए । अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाइरहेकै अवस्थामा यस्तो सहमति भएको उनको भनाइ छ ।

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि विश्व बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेको छ । विश्वव्यापी रूपमा इन्धनको मूल्य घटाउने उद्देश्यले रुसलाई डिजेल निर्यात गर्न दिने सहमति गरेको ट्रम्पले बताएका छन् ।