काठमाडौं । नेपाली कांग्रेस देउवा समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक सुरु भएको छ ।
बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको हो । देउवा समूहको सचिवालय समन्वय समितिका अनुसार पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यलगायत तयारी समितिमा रहेका सम्पूर्ण सदस्यहरू बैठकमा सहभागी छन् ।

१५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा सुरु भएको बैठकमा शीर्ष नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, एनपी साउद, डा. प्रकाशशरण महतलगायत केन्द्रीय पदाधिकारी तथा तयारी समितिका सदस्यहरू सहभागी छन् ।

पार्टीभित्रको आन्तरिक विवाद र संस्थापन पक्षसँगको मतभेदपछि देउवा समूहले समानान्तर गतिविधिलाई तीव्रता दिँदै १५ औँ महाधिवेशनको छुट्टै गृहकार्य अघि बढाएको छ ।
सोही प्रयोजनका लागि गत असारमा चुनदेवीमा स्थापना गरिएको सम्पर्क कार्यालयबाट महाधिवेशनकेन्द्रित छलफल र सांगठनिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
बैठकमा विशेषगरी १५औँ महाधिवेशनको आगामी कार्यतालिका, संगठन सुदृढीकरण र तल्लो तहसम्म महाधिवेशनको वातावरण निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
कांग्रेसको देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।