Lite Nepal

आइतबार, आश्विन २५, २०८३

काठमाडौं । गोरखाको बुढीगण्डकीमा आइतबार बिहान आएको बाढी र पहिरोको मुख्य कारण केबल वर्षा मात्र नभई, पहिरोले खोला थुनिँदा (ड्यामिङ) सिर्जित विपद् हुनसक्ने प्रारम्भिक निष्कर्ष मौसम विज्ञान विभागले निकालेको छ ।

विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले पछिल्ला केही दिनमा रेकर्ड गरिएको वर्षाको मात्रा सामान्य रहे पनि त्यसले पहिरो निम्त्याउन पर्याप्त भूमिका खेलेको हुनसक्ने बताएकी हुन् । डा. श्रेष्ठकाअनुसार गोरखाका विभिन्न स्टेसनहरू जस्तै बारपाक, नामरुङ र सेतीबेसीमा पछिल्लो केही दिनमा सामान्यदेखि केही मात्रामा वर्षा भएको छ ।

यद्यपि यही वर्षाले मात्रै ठूलो बाढी निम्त्याउने अवस्था नभएकाले यसमा पहिरोको संलग्नता रहेको विभागको प्रारम्भिक अध्ययनले देखाएको छ । उनले हालैको आँधीका कारण उच्च हिमाली क्षेत्रमा भएको हिमपातको प्रभावबारे पनि गम्भीरताका साथ अनुसन्धान भइरहेको जानकारी दिइन् ।

उनले भनिन्, ‘गोरखाका विभिन्न वर्षामापन केन्द्रको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा उल्लेख्य वर्षा भएको देखिँदैन । तर अक्टोबर ६ मा बारपाकमा २१ मिलिमिटर र अक्टोबर १० मा विभिन्न केन्द्रमा ५ देखि २४ मिलिमिटरसम्म वर्षा रेकर्ड भएको छ । अक्टोबर ७ मा घ्याच्चुङ र अक्टोबर ८–९ मा बारपाकमा पनि छोटो समयमा वर्षा भएको देखिन्छ । प्रारम्भिक विश्लेषणअनुसार पछिल्लो वर्षाले पहिरो निम्त्याएको र पहिरोका कारण खोला थुनिएर बाढी आएको हुन सक्ने सम्भावना छ । यद्यपि, उच्च हिमाली क्षेत्रमा हिमपात वा हिमनदीसम्बन्धी घटना भएको सम्भावनालाई पनि नकार्न सकिँदैन। यसबारे थप अध्ययन आवश्यक छ । हालको वर्षा पूर्वानुमानअनुसार उक्त क्षेत्रमा छिटपुट वर्षाको सम्भावना मात्र देखिएकाले ठूलो वर्षा प्रणाली सक्रिय रहेको देखिँदैन । तर बाढी प्रभावित र कमजोर भूभागमा निरन्तर निगरानी आवश्यक छ ।’

विभागले गोरखा क्षेत्रमा ठूलो मात्रामा वर्षा नभएको तर जमिन पहिले नै ‘फ्राजाइल’ (कमजोर) अवस्थामा रहेकाले सामान्य वर्षाले पनि जोखिम निम्त्याएको औँल्याएको छ । हाल उक्त क्षेत्रमा थप ठूलो वर्षाको पूर्वानुमान नरहे पनि भौगोलिक अवस्थाका कारण मनिटरिङ र सतर्कता आवश्यक रहेको विभागको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं