काठमाडौं । भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई भावनात्मक निकटतामा मात्र सीमित नराखी ठोस परिणाममुखी आर्थिक साझेदारीतर्फ रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले सार्वभौम समानता, आपसी सम्मान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक जिम्मेवारी निर्वाह गर्ने बताएका हुन् ।

संसदीय सुनुवाइ समितिमा आफ्नो अवधारणा पेस गर्दै प्रस्तावित राजदूत डा. पाण्डेले नेपालको संविधान, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा परराष्ट्र नीति सञ्चालन हुने प्रष्ट पारे ।
