विराटनगर । सर्पदंशपछि गरिने गलत प्राथमिक उपचार र अस्पताल पुर्याउन हुने ढिलाइका कारण नेपालमा बर्सेनि करिब एक हजार जनाको मृत्यु हुने गरेको अनुमान छ। सर्पदंशबाट हुने मृत्यु न्यूनीकरण गर्न समयमै उपचार, समुदायस्तरमा जनचेतना र स्वास्थ्य संस्थामा आवश्यक उपचार सेवाको उपलब्धता सुनिश्चित गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
फेयरमेड र सिबिआर विराटनगरले मंगलबार आयोजना गरेको अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले सर्पदंशको जोखिम न्यूनीकरणका लागि समुदायमा वैज्ञानिक जानकारी प्रवाह गर्न र बिरामीलाई तत्काल अस्पताल पुर्याउने व्यवस्था मिलाउनुपर्ने बताएका हुन्।

कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका महासचिव कैलाश खाकी श्रेष्ठले नेपालमा बर्सेनि करिब २० हजार जनालाई सर्पले डस्ने र तीमध्ये करिब एक हजार जनाको मृत्यु हुने अनुमानित तथ्याङ्क प्रस्तुत गरे। उनका अनुसार तराई क्षेत्रका कृषक, कृषि मजदुर, माछा मार्ने व्यक्ति तथा बालबालिका सर्पदंशको उच्च जोखिममा छन्।

श्रेष्ठका अनुसार नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये गोमन, करैत, किङ कोब्रा र भाइपरलगायत १७ प्रजाति विषालु छन्। सर्पले डसेपछि धामीझाँक्रीकहाँ लैजाने, टोकेको ठाउँ काट्ने वा चुस्ने, डाम्ने र कसिलो गरी बाँध्ने जस्ता गलत अभ्यासले बिरामीको अवस्था थप गम्भीर बनाउन सक्ने उनले बताए।
“यस्ता अन्धविश्वास र घरेलु उपचारमा समय खेर फाल्नु हुँदैन। बिरामीलाई जतिसक्दो छिटो एन्टिभेनमसहितको उपचार उपलब्ध हुने स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ,” श्रेष्ठले भने।
सर्पदंशपछि के गर्ने ?
नेपालको सर्पदंश व्यवस्थापन निर्देशिकाअनुसार सर्पले डसेपछि बिरामीलाई शान्त राख्ने, हिँडडुल गर्न नदिने र प्रभावित अङ्गलाई काम्रो (स्प्लिन्ट) को सहायताले स्थिर बनाउने गर्नुपर्छ। त्यसपछि बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ।
विषको प्रभावले शरीर सुन्निन सक्ने भएकाले डसेको अङ्गमा रहेका औँठी, चुरा तथा अन्य कसिला वस्तु हटाउन पनि चिकित्सकहरूले सुझाव दिएका छन्। टोकेको ठाउँ काट्ने, चुस्ने, डाम्ने वा कसिलो गरी बाँध्ने जस्ता कार्य नगर्न उनीहरूले आग्रह गरेका छन्।
फेयरमेडकी वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत रुषा उपाध्यायले सर्पदंशबाट हुने क्षति न्यूनीकरण गर्न जोखिमयुक्त समुदायसम्म सही र वैज्ञानिक सूचना पुर्याउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताइन्।
त्यस्तै, सिबिआरका जिल्ला परियोजना संयोजक जेनिश चौधरीले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय गरी आपत्कालीन यातायातको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।
एन्टिभेनम र दक्ष जनशक्तिको उपलब्धता आवश्यक
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सन् २०३० सम्ममा सर्पदंशका कारण हुने मृत्यु र अपाङ्गता ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ। उक्त लक्ष्य हासिल गर्न स्थानीय तहहरूले स्वास्थ्य संस्थामा एन्टिभेनम, आवश्यक स्वास्थ्य उपकरण, भेन्टिलेटर र तालिमप्राप्त स्वास्थ्यकर्मीको उपलब्धता सुनिश्चित गर्नुपर्ने विज्ञहरूले बताएका छन्।
सर्पदंशको जोखिम कम गर्न खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउने, राति हिँड्दा टर्च प्रयोग गर्ने, भुइँमा नसुत्ने र अनिवार्य रूपमा झुल प्रयोग गर्ने जस्ता सावधानी अपनाउन पनि सुझाव दिइएको छ।
विज्ञहरूका अनुसार सर्पदंशपछि गरिने सही प्राथमिक उपचार, समयमै अस्पताल पुर्याउने व्यवस्था र प्रभावकारी जनचेतनामार्फत सर्पदंशबाट हुने मृत्यु तथा अपाङ्गताको जोखिम घटाउन सकिन्छ।