मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टिका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दसैँको अवसरमा सर्वसाधारणलाई टिका, जमरा र आशीर्वाद दिने कार्यक्रम रहेको बताए ।
विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टिका, जमरा लगाएर सर्वसाधारणलाई आशीर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ । आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दसैँ टीका लगाइदिने व्यवस्था गरिएको हो ।

दसैँको दिन बिहान ५ बजेदेखि मुक्तिनाथमा भगवानको नृत्य आराधना सुरु हुनेछ । अराधन सकिएलगत्तै दसैँको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए। भगवानको नृत्य कर्म करिब २ घण्टासम्म चल्नेछ ।
