Lite Nepal

बुधबार, कार्तिक ०५, २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाली मौलिक चाडपर्वले सामाजिक एकता, राष्ट्रिय पहिचान र साझा नेपालीपनलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।

विजयादशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उनले यस्तो बताएका हुन् ।

विजयादशमीमा मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्पराले पारिवारिक आत्मीयता र आपसी सम्मान अभिवृद्धि गर्नुका साथै सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न सहयोग पुर्याएको उनले सन्देशमा उल्लेख गरेका छन् । असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यस पर्वले सत्यको मार्गमा अघि बढ्न प्रेरणा दिने उनको भनाइ छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपाली समाजमा बडादसैँजस्ता पर्वले आपसी सद्भाव, सहिष्णुता, मैत्री र एकताको भावना अभिवृद्धि गर्ने मुख्यमन्त्री कार्कीले बताएका छन् । उनका अनुसार मौलिक चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका प्रतीक मात्र नभई सामाजिक एकता, राष्ट्रिय पहिचान र साझा नेपालीपनका आधारसमेत हुन् ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा रहेका विभिन्न जातजाति, समुदाय र भाषाभाषीका मौलिक संस्कृति, परम्परा तथा चाडपर्वलाई अमूल्य सम्पत्तिका रूपमा व्याख्या गरेका छन् । प्रदेश सरकारले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै विविधताभित्रको एकतालाई अझ बलियो बनाउन प्रतिबद्ध रहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

मौलिक परम्परा र संस्कृतिको संरक्षणले वर्तमान पुस्तालाई आफ्नो पहिचानप्रति गौरव गर्न प्रेरित गर्नुका साथै भावी पुस्ताका लागि समेत सांस्कृतिक वैभव जीवित राख्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले विजयादशमी २०८३ ले सबैलाई सत्य, न्याय, सदाचार र सकारात्मक सोचको मार्ग अवलम्बन गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । साथै, सद्भाव, सहकार्य र एकताका साथ समृद्ध कोशी प्रदेश तथा समुन्नत नेपाल निर्माण गर्ने साझा संकल्पलाई थप बलियो बनाउन पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं