Lite Nepal

मंगलबार, कार्तिक १०, २०८३

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमै समेटियो । विराटनगरलाई चितवनले आठ रनले हराएको हो ।

विराटनगरलाई सस्तैमा रोक्न कमलसिंह ऐरीले चार विकेट लिए । कमलले चार ओभर बलिङ गर्दा २६ रन खर्चिए । रिजन ढकालले दुई, रञ्जीत कुमार, मौसम ढकाल, टम टेयलर र ड्यान मुस्लेले समान एक विकेट लिए ।

विराटनगरका निम्ति ओपनर इम्रान शेखले ३९ रन बनाए । आन्द्रे रसेलले ३३ रनको योगदान गरे । अर्का ओपनर लोकेश बमले २६, एञ्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३ रन जोडे ।

त्यसअघि, चितवनले विराटनगरविरुद्ध निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो ।

चितवनका निम्ति ओपनर डेविड मलानले ७० रनको अर्धशतकीय इनिङ खेले । उनले ५० बलमा समान पाँच चौका र छक्का प्रहार गरे । उनले अर्का ओपनर देव खनालसँग ५८ रनको अर्धशतकीय साझेदारी गरे ।

अविजित रहेका रवि बोपाराले ३२, ड्यान मुस्लेले २९ र देव खनालले १२ रन जोडे ।

विराटनगरका एञ्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ अशलंकाले समान एक विकेट लिए ।

खेलमा विराटनगरका कप्तान सन्दीपले १७.३ ओभरमा डीआरएसको अपिल गरेका थिए । उक्त बलमा अम्पायरले नटआउटको संकेत गरेपछि उनले अपिल गरेका हुन् । तर, उनको अपिल सफल भएन । टीभी अम्पायरले पनि नटआउटको संकेत गर्दा चितवनका डानी मुस्लेको विकेट जोगिएको थियो ।

त्यसपछि चितवनले पनि डीआएरसको अपिल गरेको थियो । दोस्रो इनिङको ३.१ ओभरमा गरिएको उक्त अपिल पनि सफल भएन । यसबाट विराटनगरका लोकेश आउट हुनबाट जोगिए ।

जितसँगै चितवनले दुई अंक जोडेको छ । चितवनले अब दोस्रो खेल यही अक्टोबर ३१ मा लुम्बिनी लायन्सविरुद्ध खेल्नेछ ।

हारबाट प्रतियोगिताको सुरुआत गरेको विराटनगरले सोही दिन दुई सिजनको उपविजेता सुदूरपश्चिम रोयल्ससँग खेल्ने तालिका छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं