काठमाडौं । युनिस ठकुरी र हुसेन तलतको उत्कृष्ट बलिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुखद सुरुवात गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा ११३ रनमै समेटिएपछि कर्णालीले १९ रनको जित निकालेको हो।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोड्दा जिम्मी निशमले १५ तथा मायन यादवले १४ रन बनाए। अनिलकुमार शाहको ब्याटबाट ११ रन निस्कियो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

कर्णालीको जितमा युनिस र तलतले समान तीन विकेट लिए। युनिसले चार ओभरमा एक मेडन राख्दै तीन विकेट झारे। उनले एउटै ओभरमा जनकपुरका कप्तान हर्मीत र जिम्मी निशमलाई आउट गरेपछि खेल कर्णालीको पक्षमा मोडिएको थियो। नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो। उसका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रनको योगदान दिए। २९ बल सामना गरेका उनले चार चौका प्रहार गरे।
कर्णालीको सुरुवात भने कमजोर रह्यो। टोलीले पहिलो ओभरमै मार्क वाटलाई गुमाएको थियो। राहुल यादवले डेब्यु खेलमै पहिलो बलमा दीपक डुम्रेलाई आउट गरेपछि कर्णाली दबाबमा परेको थियो। डुम्रेले १३ रन बनाए।
त्यसपछि हुसेन तलत तीन रनमा आउट भए। चौथो विकेटका लागि अरिफुल र पवन सर्राफले ४२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। अरिफुल ४३ रनमा आउट हुँदा पवनले ३७ बलमा ३७ रन बनाए।
त्यसपछिका ब्याटरले ठूलो योगदान दिन नसक्दा कर्णालीको स्कोर १३२ रनमा सीमित भयो। गुल्सन झाले १२, नन्दन यादवले नौ तथा अन्य ब्याटरले सानो योगदान दिए। युवराज खत्री र युनिस ठकुरी अविजित रहे।
जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए। मोइन अली र राहुल यादवले दुई-दुई तथा ललित राजवंशीले एक विकेट हात पारे।एनपीएलअन्तर्गत मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।