Lite Nepal

आइतबार, कार्तिक १५, २०८३

इलाम । अकबरे खुर्सानीको बोटमा रोगको प्रकोप देखिएर उत्पादन दिने मुख्य सिजनमै बोट मर्न थालेपछि इलामका व्यावसायिक किसान चिन्तित बनेका छन् । बोट पहेँलिने, पात सुक्ने, फलमा डढुवा लाग्ने तथा कुहिने समस्या देखिएपछि किसानको लगानी जोखिममा परेको हो ।

माङसेबुङ गाउँपालिका–६ का किसान प्रदीप राईका अनुसार अकबरे खुर्सानीमा फल लाग्न थालेसँगै पात पहेँलिने, हाँगा सुक्ने र पूरै बोट मर्ने समस्या देखिएको छ । सुरुमा राम्रोसँग हुर्किएका बोटमा उत्पादन सुरु हुने समयमा रोगको लक्षण देखिएपछि बगान नै नष्ट हुन थालेको उनले बताए ।

राईले विगत दुई वर्षदेखि व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्दै आएका छन् । गत वर्ष खुर्सानी बिक्री गरेर तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरेका उनले यस वर्ष आम्दानी बढाउने लक्ष्यसहित खेती विस्तार गरेका थिए । उनले दुई रोपनी क्षेत्रफलमा एक हजार ८०० बिरुवा रोपेका थिए । तर, फल लाग्ने समयमा रोगको प्रकोप बढेपछि अपेक्षित उत्पादन लिन नसकिएको उनको भनाइ छ ।

“यस वर्ष उत्पादन बढाउने उद्देश्यले अकबरे खुर्सानीको खेती विस्तार गरेको थिएँ”, उनले भने, “तर बोटमा फल लाग्न थालेपछि फलको आधा भाग डढ्ने, कालो हुने र कुहिने समस्या बढ्यो । यसले गर्दा लगानी नै डुब्ने अवस्था आएको छ ।”

प्रदीपजस्तै व्यावसायिक खेती गर्दै आएका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन् । अर्का किसान जीवन राईका अनुसार खुर्सानीको फलमा डढुवा लाग्ने, कीराको प्रकोप देखिने, बोट पहेँलो हुने र कुहिने समस्या बढेको छ ।

“अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने आशाले अन्नबाली लगाउँदै आएको बारीमा दुई हजार बोट रोपेको थिएँ”, उनले भने, “तर फल लाग्ने समयमा रोगको प्रकोप देखिएपछि अधिकांश बोट नष्ट भए । मिहिनेत र लगानी दुवै खेर गएपछि अहिले के गर्ने भन्ने चिन्ता थपिएको छ ।”

अर्की किसान कल्पना राईले खुर्सानी पाक्ने र टिप्ने समयमा डढुवा लाग्ने, कीरा पर्ने तथा बोट सुक्ने समस्या फैलिँदा किसान थप मारमा परेको बताइन् । उनका अनुसार रोगको सङ्क्रमण सुरु भएको एक महिनामै बारीमा लगाइएको खुर्सानी लगभग पूर्ण रूपमा नष्ट भएको छ ।

“यो वर्ष एकाएक खुर्सानीमा रोगको प्रकोप बढेको छ”, उनले भनिन्, “फल लागेको खुर्सानीको बगान नै सखाप भयो । मिहिनेत सबै खेर गयो । अब अन्य बाली लगाउन थालेकी छु ।”

किसानका अनुसार रोगका कारण वर्षभरि गरेको मिहिनेत र लगानी खेर जाने अवस्था आएको छ । रोगको प्रकोप नियन्त्रण गर्न नसक्दा आगामी दिनमा अकबरे खुर्सानी खेतीलाई निरन्तरता दिने वा नदिने भन्ने अन्योलसमेत बढेको छ ।

इलाममा उत्पादित अकबरे खुर्सानी स्थानीय बजारसँगै झापाको दमक बजारसम्म पुग्ने गरेको छ । स्थानीय व्यापारीले किसानको बगानबाटै प्रतिकेजी २०० देखि २५० रुपैयाँसम्ममा खुर्सानी खरिद गर्दै आएका छन् ।

परम्परागत खाद्यान्न बालीको विकल्पका रूपमा पछिल्लो समय इलाममा अकबरे खुर्सानीको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । नगदे बालीका रूपमा राम्रो आम्दानी हुने भएपछि किसानले यसको खेती विस्तार गर्दै आएका छन् । तर, उत्पादन दिने मुख्य समयमा देखिएको रोगको प्रकोपले किसानको लगानी र अकबरे खेतीको भविष्यमा चुनौती थपिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं