कात्तिक ३० सम्म दर्ता गर्न आग्रह
विराटनगर । सुनसरीमा आगामी मंसिर १४ गते भूतपूर्व सैनिक सम्मेलन–२०८३ आयोजना हुने भएको छ। नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर ब्यारेकमा सम्मेलन हुन लागेको हो।
नेपाली सेनाका अनुसार सम्मेलनमा सुनसरी जिल्लामा बसोबास गर्दै जिल्लास्थित बैंकबाट पेन्सन बुझ्दै आएका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरण प्राप्त गरिरहेका व्यक्तिहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

सम्मेलनमा सहभागी हुन इच्छुकले नेपाली सेना कल्याणकारी बोर्डको वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन्। त्यसैगरी, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर ब्यारेकमा स्वयं उपस्थित भएर कर्मचारीको सहयोगमा पनि दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। दर्ताको अन्तिम मिति कात्तिक ३० गते तोकिएको छ।

दर्ताका लागि पेन्सन पट्टा, पासपोर्ट साइजको फोटो र नागरिकता प्रमाणपत्र आवश्यक पर्नेछ। अनलाइनमार्फत दर्ता गर्नेले यी कागजातको डिजिटल प्रति उपलब्ध गराउनुपर्नेछ। सम्मेलनमा सहभागी हुनेहरूलाई भ्रमण भत्ता उपलब्ध गराइनुका साथै टी–क्याप, महिलाका लागि मफलर तथा स्कार्फ, झोलालगायत सामग्री वितरण गरिने नेपाली सेनाले जनाएको छ।
त्यस्तै, विभिन्न कर्जा प्राप्त गरेका ऋणीहरूलाई चेक हस्तान्तरण, उत्कृष्ट लघु उद्यमीलाई पुरस्कार वितरण तथा ज्येष्ठ भूतपूर्व सैनिक र ज्येष्ठ एकल महिलालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ।
आफ्ना चार वा सोभन्दा बढी सन्तानलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने जीवित आमाबुबामध्ये एक जनालाई योगदानको कदर गर्दै कदरपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। साथै, बहालवाला तथा भूतपूर्व सैनिकका अशक्त आश्रितहरूलाई चिकित्सकको सिफारिस र आवश्यकताका आधारमा ह्विलचेयर तथा बैसाखी वितरण गरिने कार्यक्रम रहेको छ।
सम्मेलनमा सहभागी हुन पेन्सन पट्टावाला व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ। तर, शारीरिक अस्वस्थताका कारण उपस्थित हुन नसक्ने भूतपूर्व सैनिकको हकमा आवश्यक प्रमाण पेस गरेपछि निजकी श्रीमतीले पेन्सन पट्टासहित सहभागी हुन पाउने व्यवस्था गरिएको छ। शारीरिक रूपमा अशक्त व्यक्तिहरूले मात्र सहयोगी साथमा ल्याउन पाउने पूर्वी पृतना हेडक्वार्टरले जनाएको छ ।