Lite Nepal

बिहिबार, कार्तिक १९, २०८३

झापा । सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका-१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा परेका अग्रवालले एउटा जुक्ति निकाले – केही नयाँ खेती गर्ने । निराशालाई आशामा बदल्दै त्यही सुरु भयो बदाम खेती ।

बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही भएका छन् । बजारमा उनले फलाएको बदाम प्रतिकेजी रु १०४ का दरले बिक्री भइरहेको छ । “धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो,” उनले बदामखेतीको संघर्षको कथा सुनाउँदै भने, “बाढीको कहरबाट म स्तब्ध भएँ, तर बिचलित भइनँ । कुन खेती गर्न सकिन्छ भनेर सोधीखोजी गर्न थाले । बदाम फल्छ भन्ने थाहा पाएपछि म उत्साहका साथ नयाँ खेतीमा जुटेँ ।”

उनले भारतीय बजारबाट १० केजी बदामको बीउ ल्याएर सुरुमा पाँच कट्ठा क्षेत्रफलमा बदामको परीक्षण खेती गर्नुभएको थियो । बाली सप्रिएपछि उत्साहित बनेका अग्रवालले हाल खेतीको क्षेत्रफल बढाएर दुई बिगाहा पुर्‍याएका छन् ।

पहाडी क्षेत्रमा हुँदै आएको बदाम खेती झापा जस्तो तराई क्षेत्रमा फस्टाउनु अनौठो भएको छ । तर, कृषि प्राविधिकहरूले तराई क्षेत्रमा बदाम फल्छ भनेर दिएको सल्लाहलाई उनले परीक्षणबाटै साबित गरे ।

धान वा अन्य परम्परागत बालीभन्दा बदामखेतीबाट राम्रो फाइदा लिन सकिने उनको अनुभव छ । जेठ महिनामा रोपिएको बदाम कात्तिक महिनामा फलेपछि उनलाई अहिले बाली भित्र्याउने चटारो छ । बदाम लहरे बाली हो । उनले यसपटक बदाम बिक्री गरेर राम्रो आम्दानी हुने बताए ।

खुकुलो, हलुका र बलौटे–दोमट माटो भएकाले तराईको न्यानो मौसम बदाम उत्पादनका लागि उपयुक्त मानिने झापा गाउँपालिकाका कृषि प्राविधिक रीता बर्देवाले बताए । स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिकोणले बदाम अति नै गुणकारी मानिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं