Lite Nepal

शनिबार, कार्तिक २८, २०८३

विराटनगर । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय मोरङले अभिषेक गिरीलाई बयानका लागि उपस्थित हुन पत्राचार गरेको छ। तोकिएको समयभित्र उपस्थित नभएपछि प्रहरीले उनको घरमै सूचना टाँस गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–८, मधुमार टोलस्थित गिरीको घरमा सूचना टाँस गर्दै सात दिनभित्र आवश्यक प्रमाण तथा कागजातसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो।

राकेश कुमार यादवसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र गिरीसमेत प्रतिवादी रहेको आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अधिकारप्राप्त अधिकारीसमक्ष गिरीको बयान लिनुपर्ने भएकाले गत कात्तिक १९ गते नै हुलाकमार्फत पत्र पठाइएको थियो। तर, पत्राचार गरेको सात दिन बितिसक्दा पनि उनी उपस्थित नभएपछि प्रहरीले शुक्रबार उनको घरमा सूचना टाँस गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार बयानका लागि उपस्थित हुन पत्रचार गरिएको हो । प्रहरीले अब घरमा सूचना टाँस गर्दा पनि उनी उपस्थित नभए सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ। सार्वजनिक सूचना जारी गर्दा पनि उपस्थित नभए अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिल कार्यालयमा बुझाइने प्रहरीको भनाइ छ। सोही प्रतिवेदनका आधारमा अभियोजन प्रक्रिया अघि बढ्नेछ।

मोरङ कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपपछि गत असार १३ गतेदेखि गिरीविरुद्ध विभिन्न कसुरमा अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढ्दै आएको छ। कारागारबाहिर रहेर पनि भित्र आफ्नो प्रभाव र सञ्जाल सञ्चालन गरेको आरोपमा स्थानीय प्रशासनको निष्कर्षपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

त्यसपछि उनीविरुद्ध आपराधिक लाभ लिएको, संगठित अपराध गरेकोलगायतका विषयमा अनुसन्धान अघि बढाइएको थियो। अहिले प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान गरिरहेको छ।

यसअघि गिरीलाई असार १३ गते जिल्ला प्रहरी कार्यालय मोरङ, असार २३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)  र त्यसपछि पुनः साउन २१ गते मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन प्रहरीले अहिले कानुनी प्रक्रियाअनुसार बयानका लागि उपस्थित गराउने प्रयास गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं