विराटनगर । सर्लाहीमा अज्ञात समूहको आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन् ।
घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह घाइते भएका हुन् ।

आक्रमणकारीले दुवै जनाको टाउको र अनुहारमा इँटाले प्रहार गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गइसकेको बताए ।
किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीय रविन्द्र यादवले जानकारी दिए ।
दम्पतीमाथि आक्रमणको कारण खुल्न नसकेको हरिपुर्वा नगरपालिका–८ का वडाध्यक्ष रमेश यादवले बताए ।