Lite Nepal

आइतबार, मंसिर ०६, २०८३

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको नापजाँच गर्न व्यस्त छन्। गाउँपालिकाले धेरै अन्नबाली उत्पादन गर्ने कृषकलाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने कार्यक्रमअन्तर्गत कृषकको उत्पादनको विवरण संकलन गरिरहेको हो।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै धान थन्क्याउने समयमा खलामै पुगेर उत्पादनको तथ्याङ्क लिन थालेको हो। कार्यक्रमबाट लाभ लिन कृषक उत्साहित भएपछि वडाका जनप्रतिनिधि तथा प्राविधिक टोली हरेक वर्ष धान भित्र्याउने समयमा खेत तथा खलामा पुग्ने गरेका छन्।

यसैक्रममा मिक्लाजुङ–७ लिम्बाका बमबहादुर बोहोराले लिम्बा दोभानस्थित आफ्ना तीनवटा खलामा धान झार्ने कार्यक्रमबारे वडा कार्यालयलाई जानकारी गराए। त्यसपछि वडाध्यक्ष हेमचन्द्र रेग्मी, वडा सचिव ख्यामप्रसाद चम्लागाईं र कृषि प्राविधिक रीता राईको रोहवरमा धान नापजाँच गरिएको थियो।

बोहोरोको खलामा नापजाँच गर्दा २५ मुरी धान उत्पादन भएको पाइयो। यस वर्ष उनले उक्त परिमाणसहित ७० मुरीभन्दा बढी धान भित्र्याएका छन्। गाउँपालिकाभित्र सबैभन्दा धेरै धान उत्पादन गरेकाले बोहोराले प्रोत्साहन पुरस्कार पाउने सम्भावना रहेको वडाध्यक्ष रेग्मीले बताए। “बोहराले धान मात्र होइन, गोठे मल उत्पादनमा पनि पुरस्कार पाउने हुनुभएको छ,” उनले भने, “पालिकाको प्रोत्साहन कार्यक्रममार्फत कतिपय कृषकले एकभन्दा बढी उत्पादनमा समेत पुरस्कार पाइरहनुभएको छ।”

मिक्लाजुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ देखि अन्नबाली उत्पादनसँगै प्राङ्गारिक मल उत्पादनमा पनि प्रोत्साहन दिन थालेको गाउँपालिकाका प्रवक्ता अविशन लावतीले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई ५० हजार रुपैयाँ, २० फिट लम्बाइ र चार फिट उचाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई ३० हजार रुपैयाँ, ३५ मनभन्दा बढी आलु उत्पादन गर्नेलाई २५ हजार रुपैयाँ तथा १० घनमिटरभन्दा बढी प्राङ्गारिक मल उत्पादन गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्दै आएको छ।

पुरस्कार प्राप्त गर्न कृषकले आफ्नो उत्पादन भित्र्याउनुअघि वडा कार्यालयमार्फत पूर्वजानकारी गराउनुपर्ने व्यवस्था छ। त्यसपछि जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिकले स्थलगत अनुगमन गरी उत्पादनको परिमाण यकिन गर्ने गरेका छन्।

कार्यक्रमअन्तर्गत वार्षिक करिब दुई करोड रुपैयाँ खर्च हुन थालेपछि गाउँपालिकाले यस वर्ष पुरस्कार वितरणको मापदण्ड केही परिमार्जन गर्ने तयारी गरेको छ। “उत्पादन बढाउन कार्यविधिमा सामान्य फेरबदल गर्न लागेका छौँ,” प्रवक्ता लावतीले भने, “विगतको भन्दा धेरै अन्तर हुँदैन। अहिले पनि कृषकले राम्रो लाभ पाउनुहुन्छ।”

गाउँपालिकाको कृषि शाखा प्रमुख दीपा राईका अनुसार यस वर्ष पनि धान, मकै, आलु उत्पादन तथा मल भण्डारणसम्बन्धी विवरण उपलब्ध गराउन कृषकलाई वडामार्फत पूर्वसूचना दिइसकिएको छ। सोही सूचनाका आधारमा वडा कार्यालयमा निवेदन दिएका कृषकको धान नापजाँच गर्ने काम भइरहेको उनले बताइन्।

कोभिड–१९ महामारीपछि ग्रामीण क्षेत्रलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने तथा चार फिट उचाइ र २० फिट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई एक लाख रुपैयाँसम्म पुरस्कार प्रदान गर्दै आएको थियो।

त्यस्तै, ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो २० रुपैयाँका दरले प्रोत्साहन रकम दिने गरिएको थियो। तर लाभग्राही कृषकको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले पछिल्लो समय पुरस्कार रकम घटाएको हो।

गत आर्थिक वर्षमा मात्रै कृषक प्रोत्साहन कार्यक्रममार्फत गाउँपालिकाले ५८६ जना कृषकलाई कुल एक करोड ८५ लाख ६५ हजार रुपैयाँ वितरण गरेको थियो। प्रवक्ता लावतीका अनुसार गत वर्ष धान उत्पादन गर्ने १०७ जना कृषकलाई ५३ लाख ५० हजार रुपैयाँ र मकै उत्पादन गर्ने २४८ जना कृषकलाई ७४ लाख ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।

त्यसैगरी, आलु उत्पादन गर्ने ६७ जना कृषकलाई १६ लाख ७५ हजार रुपैयाँ र प्राङ्गारिक मल उत्पादन गर्ने १६४ जना कृषकलाई ४१ लाख रुपैयाँ वितरण गरिएको थियो। पुरस्कार प्राप्त गर्ने कृषकको सङ्ख्या बर्सेनि बढ्दै गएको र त्यससँगै अन्नबालीको उत्पादनसमेत वृद्धि भइरहेको प्रवक्ता लावतीले बताए।

पाँचथरकै फाल्गुनन्द गाउँपालिकाले पनि धेरै धान उत्पादन गर्ने कृषकलाई प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको छ। त्यहाँ ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई ३० हजार रुपैयाँ र १०० मुरीभन्दा बढी उत्पादन गर्ने कृषकलाई ५० हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था छ।

जिल्लाका मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका बढी अन्नबाली उत्पादन हुने तथा तुलनात्मक रूपमा सिँचाइ सुविधा राम्रो भएका स्थानीय तहका रूपमा परिचित छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं