सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेलतालिका सार्वजनिक गरिएको छ । यही मंसिर ८ देखि १४ गतेसम्म सञ्चालन हुने महिला क्रिकेटमा तीन समूहमा विभाजन गरी नौ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, कोसी प्रदेश र कर्णाली प्रदेश छन् । समूह ‘बी’मा सशस्त्र प्रहरी बल (एपीएफ) क्लब, लुम्बिनी प्रदेश र मधेस प्रदेश छन् । समूह ‘सी’मा वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

प्रतियोगिताको पहिलो दिन मंसिर ८ गते दुई खेल हुनेछन् । बिहान ९ः३० बजेको उद्घाटन खेलमा आर्मी क्लब र कोसी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १ः१५ बजे हुने दोस्रो खेलमा एपीएफ क्लब र लुम्बिनी प्रदेश आमनेसामने हुनेछन् ।

समूह चरणका खेलबाट छनोट हुने टोलीबीच मंसिर १३ गते सेमिफाइनल प्रतिस्पर्धा हुनेछ । मंसिर १४ गते दिउँसो १ः१५ बजे उपाधिका निम्ति फाइनल खेल आयोजना गरिनेछ ।
यी सबै खेल सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली क्रिकेट मैदानमा सञ्चालन गरिने राखेपले जनाएको छ ।
