विराटनगर । ‘सीमा, सञ्चार, आतिथ्य र पर्यटन जोड्दै’ भन्ने मूल नाराका साथ आयोजित ‘भारत–नेपाल सीमापार पर्यटन, सञ्चार तथा आतिथ्य बैठक २०२६’ भव्यताका साथ सम्पन्न भएको छ ।
बैठकले नेपाल–भारत सीमा क्षेत्रको आवागमनलाई सहज बनाउने, भारतीय पर्यटकहरूको यात्रा अनुभवलाई सुखद तुल्याउने र दुवै देशबीचको पर्यटन तथा आतिथ्य सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा गहन छलफल गर्दै विभिन्न महत्त्वपूर्ण विषय अघि सारेको छ ।

बैठकमा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूले भोग्नुपरेका व्यावहारिक चुनौती, सुझाव र चासोहरूलाई गम्भीरतापूर्वक संकलन गरिएको छ । पर्यटकहरूको यात्रालाई सहज बनाउन प्रमुख सीमा नाका, पर्यटकीय गन्तव्य, होटल तथा सार्वजनिक स्थलहरूमा निःशुल्क वाई–फाई जोनको व्यवस्था गर्नुपर्ने र सीमा नाकामा सरल सुविधासहितको ‘विशेष पर्यटन क्षेत्र’ स्थापना गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।

साथै, भन्सार, अध्यागमन, सवारी अनुमति र कर भुक्तानीजस्ता प्रशासनिक प्रक्रियालाई सरल बनाउन सीमा नाकामा ‘एकद्वार नीति’ लागू गर्न तथा विद्यमान बहु–कर र भ्याट संकलन प्रणालीको पुनरावलोकन गरी पारदर्शी एकल भुक्तानी प्रणाली अपनाउन सुझाव दिइएको छ ।

सवारी साधनको आवागमनलाई व्यवस्थित बनाउन नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनका लागि अनलाइन सवारी समय कार्डको व्यवस्था सुरु गर्नुपर्ने, जसले गर्दा पर्यटकले सीमा कार्यालयमा नफर्की नेपालभित्रैबाट अनलाइनमार्फत म्याद थप गर्न सकून् भन्ने विषयमा पनि सहमति जुटेको छ ।
यसका अतिरिक्त, भन्सार जाँचपासको स्पष्ट समयसीमा निर्धारण गर्न, योग्य पर्यटकीय सवारी साधनका लागि वार्षिक वा मौसमी अनुमति प्रणाली लागू गर्न र सीमा नाकामा सुरक्षित तथा सहुलियतपूर्ण पार्किङको व्यवस्था गर्न बैठकले सिफारिस गरेको छ ।
विवाह तथा सामाजिक समारोहका लागि नेपाल आउने भारतीय पाहुनाका सवारी प्रवेश प्रक्रियालाई व्यावहारिक बनाउनुका साथै सीमा सुरक्षा र प्रहरी सेवालाई थप आतिथ्य तथा पर्यटनमैत्री बनाउनुपर्नेमा समेत जोड दिइएको छ ।
विगतका वर्षको तुलनामा नेपालका पहाडी गन्तव्यहरूमा भारतीय पर्यटकको आगमन घटेकोप्रति चासो व्यक्त गर्दै ताप्लेजुङ, इलाम, काठमाडाैं, तानसेन र पोखरा लगायतका क्षेत्रमा विशेष प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । यी सबै विषयहरूलाई सम्बन्धित सरकारी निकायसमक्ष पुर्याई समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै ग्लोबल नेपाल टुरिजम प्रोमोसन काउन्सिलले निकट भविष्यमा नेपाल परिचयात्मक भ्रमण आयोजना गर्ने घोषणासमेत गरेको छ ।

सरल प्रशासनिक प्रक्रिया, डिजिटल सेवा, निकायहरूबीचको बलियो समन्वय र सम्मानजनक व्यवहारले नेपाल–भारत सीमालाई प्रशासनिक अवरोधका रूपमा नभई पर्यटन, मित्रता, व्यापार र साझा समृद्धिको सहज प्रवेशद्वारका रूपमा रूपान्तरण गर्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन् ।
इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटी र इन्डो–नेपाल जर्नलिस्ट कोअर्डिनेसन कमिटी, भारतको आयोजनामा सम्पन्न उक्त बैठकमा नेपालका तर्फबाट ग्लोबल नेपाल टुरिजम प्रोमोसन काउन्सिलको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ आईसीसी प्रवक्ता सोमनाथ सापकोटा, काठमाडौँ जिल्ला होटल व्यवसायी संघका अध्यक्ष सुरेश बराल र नेपालका पर्यटन विज्ञ तथा सगरमाथा आरोही पीके शेर्पा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

यसका साथै, भारतका प्रतिष्ठित टुर अपरेटर, ट्राभल एजेन्ट, पर्यटन व्यवसायी, आतिथ्य क्षेत्रका पेशाकर्मी र सञ्चारकर्मीहरूको बाक्लो सहभागिताले बैठकलाई थप प्रभावकारी बनाएको थियो ।
बैठकका क्रममा आयोजक पक्षले नेपालबाट सहभागी प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गरेको थियो भने नेपाली टोलीको तर्फबाट पनि आयोजकलाई मायाको चिनो प्रदान गरिएको थियो ।
सोही अवसरमा सहभागीहरूलाई नेपालको पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक सामग्रीसमेत वितरण गरिएको थियो । कार्यक्रमको समापनमा आयोजकका तर्फबाट पंकज रञ्जित र डा. जेपी सिंहले सहभागीहरूलगायत बैठकलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
ग्लोबल नेपाल टुरिजम प्रोमोसन काउन्सिलले पनि सहभागी, आयोजक संस्था, सरोकारवाला निकाय तथा सीमापार पर्यटनका संवादलाई जनसमक्ष पुर्याउन भूमिका खेल्ने सञ्चारकर्मीहरूप्रति विशेष आभार व्यक्त गरेको छ ।


