Lite Nepal

शनिबार, माघ २४, २०७७

ताप्लेजुङ । पूर्वोत्तर नेपालको अन्तिम बस्ती ओलाङचुङगोलामा नेपाल टेलिकमले मोबाइल नेटवर्क विस्तार गरेको छ। टेलिकमले स्याटेलाइट प्रविधिबाट चल्ने टावर राखेर बिहीबारदेखि सेवा सुरु गरेको हो।

ओलाङचुङगोला ताप्लेजुङ सदरमुकाम फुङलिङबाट तीन दिन पैदलमा रहेको चीनसँगको सीमावर्ती दुर्गम गाउँ हो। स्थानीय महेन्द्र आधारभूत विद्यालयको प्राङ्गणमा टावर राखिएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए।

‘अब मोबाइलबाटै फोन गर्न पाइने भयो,’ उनले गोलाबाटै टेलिफोनमा भने, ‘हिमाली गाउँमा पनि सञ्चारको पहुँच सहज हुँदा खुसी लागेकोे छ।’ त्यहाँ माइक्रोहाइड्रोको बिजुलीले टावर सञ्चालन गरिएको छ। यसअघि यहाँ टेलिकमकै ‘भिस्याट’ प्रविधिको फोन जडान गरिएको थियो। जुन प्रभावकारी थिएन। साथै, बिग्रिरहने र मर्मत गर्न काठमाडौंबाटै प्राविधिक पुग्नुपर्ने जस्ता समस्या थियो। ‘अहिले एक दिन हिँडेर डाँडा चहार्नुपर्ने बाध्यता पनि हटेको छ,’ स्थानीय तेञ्जिङ शेर्पाले भने।

मंसिर पहिलो हप्ता सोही गाउँपालिकाको घुन्सा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ओलाङचुङगोलाको सञ्चार समस्या छिट्टै अन्त्य हुने बताएका थिए। प्रधानमन्त्रीले समेत चासो दिएपछि छोटो समयमै सेवा सुचारु गर्न सफल भएको टावर राख्न पहल गरेकी याङ्जोम शेर्पाले बताइन्।

याङ्जोमकै अग्रसरतामा दुई वर्षअघि घुन्सामा समेत मोबाइल सेवा सुचारु भएको थियो। तीन हजार १ सय मिटर उचाइमा रहेको ओलाङचुङगोलामा ५६ परिवारको बसोबास छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं