Lite Nepal

शनिबार, साउन २४, २०७७

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्म) फुटेको छ। दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए।

शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिँदै आएको थियो। दूधकुण्ड क्षेत्रमा रहेका फुछिरिङ शेर्पाले चोकर्म फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको बताए।

उक्त पोखरी पूर्ण रुपमा फुट्ने खतरा उच्च रहेको उनको भनाइ छ। पोखरीको अन्य वरिपरिको भाग चिराचिरा परिसकेको भन्दै नदी किनारका स्थानीयले उच्च सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।

यता सोलुखुम्बु प्रहरीले भने आधिकारिक पुष्टि गरेको छैन। स्थानीय भाषामा (चोकर्म) भनिने सेतो पोखरी फुटेको खबर प्राप्त भए पनि पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दी चौहानले बताए। सोलुखोलामा पानीको बहाव उच्च हुँदा जुनबेसी क्षेत्रमा नदीको पानी बस्तीमा समेत प्रवेश गरेको छ।

अहिले पानीको बहाव केही कम भए पनि जोखिम भने कायम रहेको नाम्गेल शेर्पाले बताए। खोला किनारका स्थानीयलाई समयमै सचेत नगराउने हो भने थप क्षति हुन सक्ने उनको भनाइ छ। सोलुखोलाको मुहान क्षेत्रमा पर्ने सहश्रवेणीमा रहेको एउटा चौरीगोठ तथा ३ वटा काठे साँगु समेत बगाएको भन्दै शेर्पाले क्षतिको विवरण संकलनमा ढिला गर्न नहुने बताए। पोखरी क्षेत्रमा टेलिफोनको नेटवर्कले काम गर्दैन।

स्थलगत अध्ययन गरिने

यता सोलुखुम्बु प्रदेश सभा (ख)का सांसद एवम् नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मौसम खुलेको अवस्थामा आइतबार हेलिकोप्टरमार्फत स्थलगत अध्ययनमा जाने बताए। पोखरी फुटेको खबरले त्रास फैलिएको भन्दै वास्तविकता अध्ययन गरी थप तयारी गरिने उनको भनाइ छ।

शुक्रबार पनि स्थलगत अध्ययन गर्ने योजना बनाए पनि मौसमको कारण असफल भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन्। सल्लेरी सदरमुकामदेखि ३० कोस उत्तरपूर्व क्षेत्रमा पर्ने दूधकुण्ड क्षेत्र पुग्न दुई दिन लाग्छ।

सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १ कोमा पर्ने उक्त क्षेत्रमा करिब दर्जन बढी साना ठूला ताल छन्। तर ती तालको अवस्थाबारे आधिकारिक रुपमा अध्ययन भने गरिएको छैन। उक्त ताल फुटेको खण्डमा सोलुखोलामा निर्माणाधीन ३ वटा हाइड्रोपावर क्षति पुग्छ भने कम्तीमा ३ वटा बस्ती नै विस्थापित हुन्छ। Thahakhabar

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं