काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सरकार गठनपछि पनि राजनीतिप्रति जनताको वितृष्णामा सुधार आउन नसकेको बताएका छन्।
काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै अध्यक्ष लिङ्देनले पात्र परिवर्तन भए पनि राजनीतिक परिस्थितिमा अपेक्षित सुधार हुन नसकेको बताएका हुन्।

‘पात्र फेरेर मात्रै अवस्थामा सुधार नआउने रहेछ। राजनीतिप्रतिको वितृष्णा अझै पनि उस्तै छ,’ उनले भने, ‘योबीचमा पात्र परिवर्तन त भयो, तर परिस्थितिमा परिवर्तन भएन।’

समस्या राजनीतिक पात्रमा मात्रै नभई प्रवृत्ति र प्रणालीमा समेत रहेको लिङ्देनले बताए। उनले निषेधको राजनीतिलाई अन्त्य गर्दै नयाँ राजनीतिक समझदारीका साथ अघि बढ्न दलहरूलाई आग्रह गरे।
‘संविधानको रक्षा, जेनजी पुस्ताको भावनाको सम्बोधन र विगतका आन्दोलनका उपलब्धिलाई सुधार गर्दै नयाँ समझदारीमा अघि बढौँ,’ उनले भने। मुलुकमा राजनीतिक सुधारका लागि राजनीतिक दलहरूबीच बृहत् सहकार्य आवश्यक रहेकोमा समेत लिङ्देनले जोड दिए।