ताप्लेजुङ । पदयात्रा भन्दै पाथीभरा क्षेत्रमा पुगेका ‘नो केबलकार समूह’ले केबलकार निर्माण क्षेत्रमा पुगेर सरक्षामा खटिएका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि विहीबार दिउँसो झडप भएको छ ।
झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ ।
पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूह बिहीबार ठूलो फेदीबाट केबलकार निर्माणस्थलतर्फ गएको थियो । निर्माण स्थल कब्जामा लिने भन्दै उक्त स्थानमा रहेका सुरक्षाकर्मीको घेरा तोड्न खोजेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेको थियो । त्यसपछि विरोध गर्दै पुगेको समूहले ढुंगा हान्न सुरु गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएका छन् ।
पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।