Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

बिर्तामोड । काँकडभिट्टा नाकाबाट चार महिनापछि पेट्रोलियम पदार्थको आयात सुरु भएको छ ।

यसैसातादेखि पेट्रोलियम लोड भएका ट्याङ्कर नेपाल भित्रिन थालेको मेची पेट्रोलियम डिलर्स एशोसिएसनले जनाएको छ ।

एशोसिएसनका अध्यक्ष नवीन कोइरालाले चालक तथा सह चालकको कोरोना परीक्षण रिपोर्टका आधारमा भारतीय आयल निगमले तेल उपलब्ध गराउन थालेको जानकारी दिए ।

आयात रोकिएको चार महिनापछि अहिले ट्रायलका रुपमा मात्रै पेट्रोलियम आयात भइरहेको हो ।

नौवटा ट्याङ्करमा पेट्रोलियम पदार्थ भित्रिएको छ । ‘हिजो मात्रै सात ट्याङ्कर तेल आइपुगेको छ’, अध्यक्ष कोइरालाले भने ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले नेपालमा लक डाउन सुरु भएपछि पेट्रोलियम पदार्थको आयातमा प्रतिवन्ध लगाएको थियो ।

कुनै रित्तो गाडी समेत नपठाउनु भन्ने भारतीय अधिकारीको भनाइपछि नेपालबाट कृषिजन्य उत्पादनको निर्यात पनि अवरुद्ध भएको थियो ।

अहिले सहज रुपमा कृषि उत्पादन निकासी भइरहे पनि पेट्रोलियम आयात भने यसै साताबाट मात्रै सुरु भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

भारतीय आयल कर्पाेरेशनले चार महिनापछि नेपाली ट्र्याङ्करका चालक र सह चालकको कोरोना जाँच रिपोर्टका आधारमा अहिले पेट्रोलियम पदार्थ उपलब्ध गराउन थालेको प्रमुख भन्सार अधिकृत ध्रुवकुमार विश्वकर्माले बताए ।

नेपाल आयल निगमले ५४ वटा ट्याङ्करमार्फत सिलगुडीबाट काँकडभिट्टा नाका हुँदै पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ ।

चालक तथा सहचालक सबैको पीसीआर परीक्षण भइनसकेकाले नियमित पेट्रोलियम पदार्थ आउन भने सकेको छैन ।

परीक्षण रिपोर्ट आउन ढिलाई भइरहेका कारण निगमले सबै ट्याङ्कर पठाउन नसकेको हो ।

पश्चिम बंगालबाट पेट्रोलियम आयात ठप्प भएपछि मेची भन्सार कार्यालयले दैनिक दुई करोड रुपैयाँ राजस्व गुमाउनु परेको जनाउँदै आएको थियो ।

काँकडभिट्टाबाट रोकिँदा व्यवसायीले अमलेखगञ्जबाट पेट्रोलियम ढुवानी गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा