Lite Nepal

बिहिबार, साउन २२, २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका विभाग गठनमा सक्रिय बनेका बेला असन्तुष्ट पक्ष भने महाधिवेशन केन्द्रित रणनीति बनाउन सक्रिय भएको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा बसेको असन्तुष्ट पक्षको भेलाले सभापति देउवा विधानविपरीत महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न लागि परेको ठहर गर्दै महाधिवेशन केन्द्रित रणनीति बनाएर अघि बढ्ने निष्कर्ष निकालेको हो ।

असन्तुष्ट पक्षका नेताहरूको बैठकले फागुन ७ देखि सुरु हुने भनिएको १४औं महाधिवेशनको रणनीति बनाउन तीन सदस्यीय समिति गठन गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित समितिमा अर्जुननरसिंह केसी र बद्री पाण्डे सदस्य छन् । उनीहरूले पार्टीको महाधिवेशनका सन्दर्भमा आफ्नो पक्षको रणनीति तय गर्नेछन् ।

सभापति देउवासहितको संस्थापन पक्ष विभाग गठन गर्दै अघि बढ्ने तयारीमा छ । सभापति देउवाले विधानविपरीत गठन गर्ने कुनै पनि विभाग र समितिमा सहभागी नहुने जनाएको असन्तुष्ट पक्षले निकटका नेता कार्यकर्तालाई पनि सहभागी नहुन आग्रह गरेको छ ।

त्यस्तै पार्टी क्रियाशील सदस्यता वितरणदेखिका कार्यालयका अन्य कामका लागि महामन्त्री कोइराला नियमित केन्द्रीय कार्यालय सानेपा जाने निर्णय पनि भेलाले गरेको छ । त्यसमा केन्द्रीय सदस्य मीनेन्द्र रिजाल र पाण्डेले सहयोग गर्ने तय भएको छ । आइतबारदेखि नै महामन्त्री कोइराला नियमित कार्यालय जाने बताइए पनि नेता रामचन्द्र पौडेलसँगको थप छलफल गरेर मात्र अघि बढ्ने उनको तयारी रहेको स्रोतले बतायो ।

सभापति देउवा भने यसअघि संयोजक तोकेर त्यसलाई पूर्णता दिन बाँकी रहेका विभाग गठनको तयारीमा छन् । त्यसका लागि नाम तय गर्न उनले निकटका नेतालाई जिम्मा दिएका छन् ।

पौडेलसहितका नेताको असन्तुष्टिबीच सभापति देउवाले कार्यकाल गुजारेका ६ भ्रातृ संगठनको म्याद थप गरेका छन् । पार्टी केन्द्रीय समितिको आगामी बैठकले अनुमोदन गर्नेगरी सभापति देउवाले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातान्त्रिक सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर संघको म्याद थप गरेका हुन् ।

उनीहरूको साउन १६ गते बाट ६ महिना म्याद थप गरिएको छ । ६ महिनाभित्र महाधिवेशन गर्नेगरी नेपाल विद्यार्थी संघको आयोजक समिति गठन गरेको कांग्रेसले अहिलेसम्म त्यसको केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन । केन्द्रीय समितिलाई पूर्णता दिन उपसभापति विमलेन्द्र निधिले नेता पौडेल र कृष्णप्रसाद सिटौलासँग पटकपटक नाम मागेको स्रोतको दाबी छ । दुवै पक्षले नाम नदिएपछि सभापति देउवा केन्द्रीय समितिको कार्यकाल थप्ने पक्षमा पुगेको स्रोतको दाबी छ ।

यसअघि नै कार्यकाल सकिएको तरुण दल केन्द्रीय समितिको एक कार्यकाल चारजना पदाधिकारीमै सकिएको छ । केन्द्रीय समितिलाई पूर्णता नदिईकनै कार्यताल गुजारेको अहिलेको समितिलाई नै देउवाले निरन्तरता दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा