Lite Nepal

बिहिबार, साउन २९, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ।

अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान एचडी टेलिभिजनमा बुधबारबाट सुरु भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ का लागि पत्रकार भूषण दाहाललाई अन्तर्वार्ता दिँदै नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरे।

‘म कसैप्रति आरोप लगाइरहेको छैन। अस्ति पत्रकार सम्मेलन भयो। मैले कुनै जवाफ पनि दिइनँ। तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनु भएको छ। म चुप लागेर बसेको छु। त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ। कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ।

मैले त्यसको कुनै जवाफ दिएको छैन। म के भन्न चाहन्छु भने पार्टी फुट्दैन। र, फुटाउन कसैले सक्दा पनि सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हप्ता–दस दिन होइन, हप्ताभन्दा यतै ५ दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो। भोलि १ भनेर गन्न सुरु गर्नुहोला।’

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने बुधबारै काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग पार्टीभित्र देखा परेका विषयमा सुझावका लागि भन्दै छलफल गरेका थिए। अर्कातिर दुई अध्यक्षबीच संवाद गराउन र विवाद टुंग्याउन दोस्रो पुस्ताका नेताहरूले भित्री रूपमा छलफल पनि बाक्लो बनाएका छन्।

महासचिव विष्णु पौडेलले बुधबारै अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेट गरेका थिए। उपाध्यक्ष वामदेव गौतमले पनि वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए। शंकर पोखरेल, जनार्दन शर्मालगायत नेताहरूले दुवै अध्यक्षसँगको छलफल बाक्लो बनाएका छन्। उनीहरूका छलफलबारे केही नखुले पनि प्रधानमन्त्रीले अबको ५ दिनमा ‘सिनारियो नयाँ देखिने’ बताएपछि छलफल सकारात्मक रहेको अनुमान लगाउन थालिएको छ।

ओलीले आफू तत्कालीन एमालेको बहुमतबाट निर्वाचित अध्यक्ष भएको र पार्टीमा तत्कालीन दुई पार्टीका अध्यक्ष महाधिवेशनसम्मका लागि अध्यक्ष रहने गरी व्यवस्था गरिएको प्रष्ट पारे। उनले ५ वर्ष सरकार पनि यही निरन्तर रहने बताए।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं