Lite Nepal

बिहिबार, पुष ०२, २०७७

विराटनगर । विराटनगर—२ मोरङका राजेश गुरागाईंका छोरा दीपकले एसईईमा ‘ए प्लस’ ल्याएर उत्तीर्ण भए। त्यसबेलादेखि नै राजेशको मोबाइलमा विराटनगरका शैक्षिक परामर्श केन्द्रबाट फोन आएको आएै छ। घरमा नै आएर यो र त्यो कलेज भर्ना गर्नुपर्छ भन्नेको पनि लाइनै लाग्यो।

तर, उनले सबैलाई कलेज आफैं छान्ने भन्दै फर्काए। राजेश भन्छन् ‘आफैं विद्यालय र विषय छान्न सक्षम परिवार भएकोमा त यस्तो हालत छ। थाहा नहुनेलाई त यिनले कति कमिसन लिए होलान्।’

राजेश एक प्रतिनिधि पात्र मात्र हुन्। कोरोना महामारीपछि विदेश पढ्न जाने घट्न थालेपछि शैक्षिक परामर्श सेवा ‘कन्सल्टेन्सी’ का नाममा खुलेका संस्थाको ध्यान नेपालकै विद्यार्थीमा पर्न थालेको छ। यसको असर विद्यालयको शुल्क र विद्यार्थीको गुणस्तरीय शिक्षामा परेको छ।

विद्यार्थीलाई ओगट्ने र विद्यालयसँग कतिमा विद्यार्थी लिने हो भनेर दलाली गर्ने क्रम राजधानी काठमाडौंसँगै प्रदेश राजधानी विराटनगरमा पनि बढेको स्वयं प्याब्सनले स्वीकार गरेको छ। प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरी नेपालकै निजी विद्यालयमा विद्यार्थी पुर्‍याउनमा ‘बिचौलिया’ सक्रिय भएको बताउँछन्। ‘विद्यार्थीलाई ओगट्ने, विद्यालय र अभिभावकबीच भेट नगराई कमिसनमा काम गर्ने दलाल बढेका छन्,’ पुरीले भने।

पछिल्लो समय शैक्षिक परामर्श सेवा केन्द्रका नाममा खुलेका संस्थाले विद्यालयसँग कमिसन मागेर विद्यार्थी ल्याउन बारम्बार ‘डिल’ गर्ने गरेको आफू स्वयंले भोगेको अध्यक्ष पुरीले बताए। ‘मेरै कलेजमा पनि फोन आएको सुनेको छु, अन्य कलेजमा दैनिक यति र उति भन्ने डिल हुने गरेको छ रे’, उनले भने, ‘यो विकृति हो।’ पुरीका अनुसार एक विद्यार्थी ल्याएबापत कक्षा ११ मा ५ हजारदेखि २० हजारसम्म र त्योभन्दा माथिका कक्षमा ५० हजारसम्म कमिसन ती संस्था र व्यक्तिले विद्यालयबाट लिने गरेका छन्।

बिचौलिया र संस्थाबाट विद्यार्थी लिँदा विद्यालयलाई भार पर्ने र सो भार विद्यार्थी र अभिभावक माथि नै थोपर्ने गरेकाले विद्यालयको शुल्क बढी हुने गरेको अध्यक्ष पुरीले बताए। ‘यो नराम्रो हो, अब विद्यार्थी र अभिभावक आफैंले कलेज विद्यालय चिन्नुपर्छ, यसले विद्यालय र अभिभावकसँगै विद्यार्थीलाई पनि सहज हुन्छ’, अध्यक्ष पुरीले भने।

बिचौलिया व्यक्ति र संस्थासँग विद्यालयका शिक्षक कर्मचारीकै मिलेमतो हुने गरेको पाइएकाले त्यसलाई रोक्न प्याब्सन मातहतका सबै विद्यालयलाई निर्देशन दिइएको छ। विद्यार्थीसम्म कलेज र विद्यालयको सेवाका विषयमा जानकारी पुर्‍याउन निजी विद्यालयले तयारी गरिरहेको अध्यक्ष पुरीको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं