Lite Nepal

शनिबार, भाद्र २०, २०८३
फाइल फोटो

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनास्थलमा सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य अझै जारी छ।

रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार आयोजनाका नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारीमा कार्यरत दुई जना तथा तीनवटा ठेकेदार कम्पनीका ३९ जना गरी कुल ९३ जना अझै सम्पर्कविहीन छन्।

खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली आयोजनास्थल पुगेको छ। कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार शुक्रबार बिहान नेपाली सेनाको उद्धार टोली आवश्यक सामग्री तथा वरिष्ठ जियोलोजिस्ट विष्णु शिवाकोटीसहित तीनवटा हेलिकप्टरमार्फत विद्युत्गृह ९पावरहाउस० तर्फ प्रस्थान गरेको थियो।

विद्युत्गृहबाहिरबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि कम्पनीले नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग समन्वय गरी दक्ष तथा अनुभवी रक क्लाइम्बरहरू परिचालन गरेको जनाएको छ। उनीहरूले प्रभावित क्षेत्रमा ग्राउन्ड सर्चसमेत गरिरहेका छन्।

त्यसैगरी, हिमालय समिट क्लब प्रालिको टोली पनि बिहीबार साँझ करिब ४ बजे हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेर खोजीमा जुटेको थियो। तर, टोलीले दिएको रिपोर्टअनुसार बिहीबार बेलुकीसम्म सम्पर्कविहीन कर्मचारीमध्ये कसैको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको थिएन।

शुक्रबार पुनः खोजी कार्य सुरु गरिएको कम्पनीले जनाएको छ। खोजी तथा उद्धार कार्यको विस्तृत विवरण भने आउन बाँकी रहेको कम्पनीले जनाएको छ।

बाढीका कारण आयोजनामा खोजी तथा उद्धारका लागि प्रयोग भइरहेका मिनी एक्साभेटर, ठूलो डिजेल जेनेरेटर, सबमर्सिबल पम्प, होज पाइप तथा विद्युत्सम्बन्धी सामग्रीसहितका उपकरणसमेत क्षतिग्रस्त भएका छन्।

कम्पनीका अनुसार सोमबारदेखि बुधबारसम्ममा मात्रै करिब १९ करोड रुपैयाँ बराबरका सामग्रीमा क्षति पुगेको छ। सम्पर्कविहीन कर्मचारी तथा जलविद्युत् केन्द्रका कर्मचारीका परिवारलाई घटनाको अवस्थाबारे नियमित जानकारी गराउन कम्पनीले ह्वाट्सएप समूहसमेत गठन गरेको जनाएको छ।

रसुवागढी जलविद्युत् आयोजनामा बाढीपछि ठूलो संख्यामा कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको विषय यसअघि पनि सार्वजनिक भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं