Lite Nepal

सोमबार, पौष १३, २०७७

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको आरामले सामना गर्ने बताएका छन्। आइतबार बिहान प्रदेशसभा सचिवालयमा प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि पत्रकारसँग कुरा गर्दै यो प्रस्तावले आफू नआतिएको बताए। ‘केन्द्रको राजनीतिक गतिरोध र प्रतिनिधिसभा विघटनलाई आधार बनाएर यो प्रदेशमाथि सुनियोजित रुपमा आक्रमण भएको हो’, उनले भने, ‘म यसको सामना आरामले गर्छु।’

उनले दर्ता भएको अविश्वासको प्रस्ताव आफूमाथि मात्रै नभइ प्रदेश माथिकै आक्रमण भएकाले यसलाई सांसदले केलाएर बुझ्ने र आफूलाई बहुमत सांसदले साथ दिने विश्वास समेत व्यक्त गरे। ‘केही सांसदको हस्ताक्षरले म आतिएको छैन, विवेक भएका माननीय सदस्य प्रदेश सभामा हुनुहुन्छ, यो चालबाजीलाई उहाँहरुले बुझ्नुभएको छ र उहाँहरुको साथ मलाई अवस्य हुन्छ’, मुख्यमन्त्रीले भने।

प्रदेश सरकार असक्षम भएर, प्रदेश सरकारले काम गर्न नसकेर र मुख्यमन्त्रीले नाजायज काम गरेर नभइ कसैद्वारा निर्देशित भएर मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको उल्लेख गर्दै उनले प्रस्ताव सुनियोजित भएको दाबी गरे।

‘यो अविश्वासको प्रस्ताव सुनियोजित, बनिबनाउ र एउटा खास ठाउँबाट निर्देशित भएर प्रदेशहरुलाई पनि कमजोर बनाउने, अस्थिरता, अराजकता र अव्यवस्था निम्त्याउने साथै संघीयतालाई संस्थागत गर्न नदिने भन्ने मनसायबाट आएको हो’, उनले भने, ‘यसको छिनोफानो अब बस्ने प्रदेशसभाले गर्नेछ।’

अविश्वासको प्रस्ताव ल्याउनेहरुको अनुहार हेर्दै आफूविरुद्ध लागेको आरोपको आगामी माघ ७ गते बस्ने प्रदेशसभाको बैठकमा मज्जाले जवाफ दिने मुख्यमन्त्री राईले बताए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। अविश्वास प्रस्तावमा ३७ सांसदले हस्ताक्षर गरेका छन् ।

नेकपामा केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए । आइतबार बिहाने सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामूहिक राजीनामा दिएपछि अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा