Lite Nepal

शनिबार, आषाढ ३२, २०७९

ताप्लेजुङ — ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ भएको छ । आयोजना प्रमुख मणि पोख्रेलका अनुसार शुक्रबार राति १०:३० बजेतिर सुरुङ जोडिएको हो । यो आयोजनाले ड्याम बन्ने मित्लुङ र पावर हाउस राखिने थुम्वा गरी दुईतिरवाट सुरुङ खन्दै आएको थियो ।

दुईवटा कम्पनीले आ–आफ्नो क्षेत्रबाट खनेको सुरुङ शुक्रबार राति जोडिएको पोख्रेलले जानकारी दिए । यहाँ ६ मिटर चौडाइ, ४ मिटर उचाइ र ३ हजार ३ सय ७० मिटर लम्बाइको सुरुङ निर्माण भइरहेको छ । सुरुङ जोडिएसँगै आयोजनाको ७१ प्रतिशत काम सकिएको सूचना अधिकारी करन गौतमले बताए । गौतमका अनुसार हेडवर्क्सको काम ८० प्रतिशत सकिएको छ । सुरुङको काम पनि ६६ प्रतिशत पूरा भएका आयोजनाले जनाएको छ ।

ताप्लेजुङमा निर्माणाधीन सबैभन्दा ठूलो यो आयोजनाको लागत १२ अर्ब रुपैयाँ रहेको छ । ७५ प्रतिशत बैंक र २५ प्रतिशत स्वपुँजी रहने आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । निर्माण कार्यमा भने अधिकांश नेपाली कामदार रहेका छन् । जलविद्यु्त् योजनाका लागि ३ हजार ३ सय ६७ मिटर लामो सुरुङ बनाइनेछ ।

मित्लुङको माथिल्लो क्षेत्रमा ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध बनाएर साइड इन्टेकमार्फत पानी फाल्ने क्षेत्रमा पठाउने, त्यहाँबाट एक सय मिटर लम्बाइ र १३ मिटर चौडाइका ३ वटा भूमिगत च्याम्बर बनाई बालुवा थिग्र्याउने ठाउँमा पुर्‍याइनेछ । बालुवा तथा लेदो भने तमोर नदीमै फालिन्छ ।

मिक्लाखोला गाउँपालिकाको खोक्लिङ रहने उत्पादनगृहमा प्रस्तावित विद्युतगृहमा जडित १८.२५ मेगावाट क्षमताका ४ वटा टर्बाइनमा खसाली जेनेरेटिङ युनिटमार्फत उत्पादन गरिनेछ । यहाँबाट निस्किएको पानीलाइ ७५ मिटर लामो निकास नहरमार्फत तमोर नदीमै खसालिनेछ ।

 

सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले उत्पादन गर्ने आयोजना ५४ बाट १९ मेगावाट बढाएर ७३ मेगावाट बनाइएको हो । २०७३ असारमा फक्तालुङ गाउँपालिका २ सावादिनको नाक्लाभीर झरेर बनेको तालले उचाइ बढाएसँगै उत्पादन क्षमता पनि बढेको हो । ताल फुटेपछि आयोजनाले गरेको अध्ययनले नदीको सतह पहिले भन्दा १२ मिटर माथि उठेको पुष्टि भएको थियो ।

लिमिटेडका वातावरणविद् अर्विन्द्र श्रेष्ठका अनुसार हेडबक्स साबिकको स्थानभन्दा १२ सय मिटर माथिको तटीय क्षेत्र र विद्युतगृह एक हजार मिटर तलको थुम्वाबेँसीमा सारिएको छ । यसअघि लोरिनदिनमा हेडवर्क्स र थुम्वाभन्दा माथिल्लो क्षेत्रमा उत्पादनगृह राख्ने तयारी भएको थियो । अब यसको बहाव ७३.७१ घनमिटर प्रतिसेकेन्ड हुने भएको छ । कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा