Lite Nepal

शनिबार, चैत्र ११, २०७९

ताप्लेजुङ – मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम फुङलिङका अस्थायी टहरा हटाउन फुङलिङ नगरपालिकाले अनुरोध गरेको छ । सडकको दायाँ बायाँ साढे १० मिटरका दरले चौडाइ कायम गर्ने गरी रेखाङ्कन गर्दै १५ दिनभित्र संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो ।

बुधबारदेखि रेखाङ्कन गर्ने काम सुरु गरिएको छ । सडक विभाग इलाम र फुङलिङ नगरपालिकाले तीन पटक सार्वजानिक सूचना गर्दा स्थानीयले टहरासहित अस्थायी संरचना नहटाएपछि नगरपालिकाले रेखाङ्कन गर्दै हटाउन भनेको हो । रेखाङ्कनका क्रममा फिल्डमै निस्कनुभएका नगरप्रमुख अमिर मादेनले स्थानीयलाई अस्थायी संरचना हटाउन अनुरोध गर्दै आउनुभएको छ ।

राजमार्गअन्तर्गत मापदण्डभित्र पर्ने टहरा मात्र हटाउन लगाइएको तर पक्की घरका सम्बन्धमा चुपचाप भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । केहिले सडक आवश्यकता भएको भन्दै भत्काउन तयार रहेको सङ्केत गरे पनि अधिकांशले भने भत्काउन नहुने अडान लिएका छन् ।

बजारभित्रै राजमार्गको मापदण्डअनुसार सडक विस्तार हुँदा ठूलो क्षतिसहित धेरै परिवारको उठिवास हुने भएकाले यसको विकल्प खोज्नुपर्ने स्थानीय खगेन्द्र फेम्बू (लिम्बू)ले बताउनुभयो ।

सडक ऐन लागू हुनु पूर्व बनेका र त्यसपछि बनेका घरले सडकको भाग छाड्दा धेरैको जग्गा जमिन नै सकिने भएकाले गम्भीर समस्या उत्पन्न हुने बजारवासी छत्र विकले गुनासो गर्नुभयो ।

सडक विभाग इलामको अनुरोधमा नगरपालिका र जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा अस्थायी टहरा भत्काउने तयारी गरेको हो । सडक ऐन २०३१ अनुसार मेची राजमार्गको चौडाइ ४२ मिटरको छ । यद्यपि सरोकारवालाको सुझावमा बजारभित्र सडक २१ मिटरको कायम गर्नका लागि अनुरोध गर्ने तयारी छ ।

बजारभित्र ४२ मिटरको चौडासहितको बाटो बनाउन सम्भव नभएकाले बाइपासका लागि सहमति गरेर बजारभित्र २१ मिटर मात्र कायम गर्ने गरी रेखाङ्कन भइरहेको नगरप्रमुख मादेनले जानकारी दिनुभयो ।

तत्काललाई अस्थायी संरचना हटाउने र २१ मिटरभित्र पर्ने अन्य संरचना क्रमशः हटाउने उहाँको भनाइ छ । एकातिर विकासका लागि सडकको आवश्यकता अर्कातिर त्यही सडकले पुर्‍याउने क्षति र उत्पन्न विवादले भने अवरोध भइरहेको मादेनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा