काठमाडौं – ‘नेपालकै ठूलो’ ताप्लेजुङ वनभोज २०८० शनिबार भव्य रूपमा सम्पन्न भएको छ । भक्तपुरको मन्थली चौर गुण्डुमा ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले आयोजना गरेको वनभोज विभिन्न औपचारीक, अनौपचारिक र मनोरञ्जनात्मक कार्यक्रमका बिच भव्य रूपमा सम्पन्न भएको हो ।
बिहान ७ बजेबाट सुरु भएको कार्यक्रम साँझ ६ बजे सम्म चलेको थियो । केही संक्षिप्त मन्तव्यसहितको औपचारिक कार्यक्रम भए पनि अधिकांश समय झाँकीसहितका मनोरञ्जनात्मक कार्यक्रम र संयुक्त नृत्य आयोजना गरिएको थियो । कार्यक्रममा वहालवाला मन्त्रीसहित पूर्वमन्त्री र सांसद्हरूको पनि सहभागिता रहेको थियो ।
सहरी विकास मन्त्री सिता गुरुङ, पूर्वमन्त्री, सांसद् तथा नेकपा एमालेका सचिव योगेश भट्टराई, सांसद् उर्मिला थेबेसहित ताप्लेजुङसँग सम्बन्ध र साइनु रहेका विभिन्न पदमा आसिन कर्मचारी र विशिष्ठ व्यक्तिहरूको सहभागिता रहेको उक्त वनभोज कार्यक्रममा तीन हजार बढीको सहभागिता रहेको आयोजकले जनाएको थियो ।
खाजा र खानाको समेत क्याटररिङ मार्फत व्यवस्थापन गरेको आयोजकले कार्यक्रमलाई भव्य बनाउन विभिन्न जात जातिको झाँकी र नृत्य पनि प्रस्तुत गरेको थियो ।
ताप्लेजुङमा जन्मिएर विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएकाहरूलाई एक ठाउँमा भेला गर्ने र एक दिन भए पनि दुःख, सुख साटासाट गर्ने उदेश्यले सरोकार केन्द्रले हरेक वर्ष वनभोजको आयोजना गर्दै आएको छ ।
कोरोना महामारीमा केही वर्ष रोकिए पनि अघिल्लो वर्षबाट नियमित यस्ता कार्यक्रमको आयोजना गरी जिल्ला वासीहरूलाई एकजुट गराउँदै आएको वनभोज आयोजक समितिका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए ।
राजधानीमा हुने यस्ता कार्यक्रमले जिल्ला वासी बिच आत्मियता बढाउने आयोजक संस्था सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले लाइट नेपाललाई जानकारी दिए । वनभोज स्थलमा पुग्न र फर्कनका लागि उपत्यकाका विभिन्न स्थानबाट बसको व्यवस्था गरिएको केन्द्रका महासचिव सन्तोस मादेनले बताए ।
यो पनि पढ्नुहोस्