काठमाडौं । ताप्लेजुङको पाथीभरा सडक अन्तर्गत सुकेटार–काफ्लेपाटी खण्डको ११ किलोमिटर सढक कालोपत्रेको काम यसै वर्ष सकिने भएको छ ।
लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्कामा लिएको कम्पनीले अहिले धमाधम काम गरिरहेको र यसै आर्थिक वर्ष भित्र काम सकिने ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले सचिव योगेश भट्टराईले बताए ।
‘यो बाटोको विषयमा धेरै कुरा आइरहेका छन् । तर, काम पनि पछिल्लो समय धमाधम भइरहेको छ,’ भट्टराईले भने, ‘कामको गतिका विषयमा मैले जानकारी लिइरहेको छु ।’
काठमाडौंको कन्टेक निर्माण कम्पनीले कालोपत्रको ठेक्का लिएको र अहिले काम निरन्तर भइरहेको यो सडकखण्डको प्रगति हेरिरहेको सुभाङखोला–ओलाङचुङगोला सडक आयोजना प्रमुख सिंह बहादुर विष्ट बताउँछन् ।
पहिले पैसा भुक्तानीको समस्या भएको कारण काम रोकिएको र अहिले भुक्तानी भएसँगै कामले पनि गति लिएको निर्माण कम्पनी कन्टेक निर्माण प्रालिका साइड इन्चार्ज तेजेन्द्र केसी बताउँछन् ।
यो कम्पनीसँग २०७८ पुस ११ गते सुकेटारबाट काफ्ले पाटीसम्मको १० किलोमिटर कालोपत्र गर्ने ठेक्का सम्झौता भएको थियो । ९५ करोडको ठेक्का खुलेकामा कन्टेकले ४१ करोड ७६ लाख ४७ हजार अर्थात् ४६ प्रतिशत घटीमा ठेक्का पारेको थियो ।
सदरमुकाम फुङलिङबाट सुकेटार विमानस्थल सम्म ८ किलोमिटर दूरी भने विगतमै कालोपत्र भएको छ । सुकेटार काफ्लेपाटी सडक कालोपत्रे भएपछि तीर्थयात्रीलाई अझै सहज हुने अपेक्षा रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङ बताउँछन् ।