खोटाङ । महिला उद्यमी संघ खोटाङका अध्यक्ष बिमला राईले सञ्चालन गरेको ‘खोटाङ उद्यमी कोसेली घर’ जिल्लाको स्थानीय उत्पादन प्रवर्द्धन गर्ने महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी उनले विसं २०८० असोज–९ गते दिक्तेल बजारमा औपचारिक रूपमा कोसेली घर स्थापना गरेकी हुन् ।
सामाजिक संघ संस्था तथा राजनीतिमासमेत सक्रिय रहँदै आएकी अध्यक्ष राई विसं २०७७ मा महिला उद्यमी संघको अध्यक्ष निर्वाचित भएकी थिइन् । जिल्लामा स्थानीय उत्पादनलाई व्यवस्थित बजार आवश्यक रहेको महसुस गर्दै अध्यक्ष राईले कोसेली घर सञ्चालन गरेकी हुन् ।
सुरुमा रु सात हजार लगानी गरेर ३०–४० बट्टा अकबरे खुर्सानीको अचार उत्पादन गरेर कोसेली घर स्थापना गरेकी अध्यक्ष राईले दुई वर्ष नपुग्दै करिब रु ३५ लाख लगानी पुगेको जानकारी दिएकी छन् । “कोसेली घरमा जिल्लाभित्र उत्पादन भएका सामग्रीमात्र बिक्रीका लागि राख्ने गरेकी छु । केही सामग्री आफै उत्पादन गर्छौँ भने, अधिकांश सामग्री स्थानीय किसानबाट खरिद गरेर बिक्री गर्दै आएकी छु”, उनले भने,“विशेषगरी विदेशमा रहेका खोटाङवासीले पुनः फर्किएर जाँदा कोसेलीका रूपमा खाद्य सामग्री खरिद गरेर लैजाने गरेका छन् ।
कोसेली घरमा राखिएका सामग्री बेलायत, हङकङ, सिङ्गापुरलगायत देशमा निर्यात हुँदै आएको छ ।” जिल्लाका दश स्थानीय तहमध्ये विशेष गरी केपिलासगढी गाउँपालिकाबाट बढी सामग्री खरिद गरिँदै आएको अध्यक्ष राईले बताए । उक्त क्षेत्रमा मह, बाँस तथा काठजन्य सामग्री र विभिन्न खाद्यान्न उत्पादन हुने भएकाले त्यहाँबाट नियमित रूपमा सामग्री संकलन गर्ने गरेको उनको भनाइ छ ।
