विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले स्थापनाको आठौं वर्षमा उल्लेख्य प्रगति गरेको बताएका छन् ।
आज कोशी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशमा उल्लेख्य काम भए पनि त्यसलाई नजरअन्दाज गरेर नकारात्मक प्रचार मात्र गरिएको बताएका छन् । मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा नेपालको संविधान २०७२ जारी भएपछि २०७४ साल मंसिरमा प्रदेश सभाको निर्वाचन सम्पन्न भई फागुन ३ गते गठन भएको कोशी प्रदेश सरकार आज नवौं वर्षमा प्रवेश गरेको उल्लेख गरिएको छ।
मुख्यमन्त्री कार्कीले सात दशक लामो संघर्ष र ऐतिहासिक जनआन्दोलन २०६२–६३ को जगमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार प्रदेश सरकार सञ्चालन हुँदै आएको र छोटो अवधिमै महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् । भौतिक पूर्वाधार निर्माणदेखि सामाजिक विकास र नागरिकको जीवनस्तर उकास्न प्रदेश सरकारले उल्लेखनीय प्रगति उनले दाबी गरेका छन् ।
प्रदेश सरकारका कामलाई नजरअन्दाज गर्दै प्रदेश संरचनामाथि प्रहार हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले वर्तमान परिस्थितिमा पारदर्शिता, जवाफदेहिता, जनमुखी सेवा र सुशासनलाई प्राथमिकता दिँदै प्रदेश सरकार अघि बढिरहेको चर्चा गरेका छन् । प्रदेश सरकारले अनुभव अभिवृद्धि गर्दै आवश्यक कानून निर्माण र कार्यान्वयनमा संघीय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वलाई जोड दिएको उनले उल्लेख गरे ।
प्रदेश सरकारले ‘प्रदेशले केही गर्न सक्दैन’ भन्ने नकारात्मक प्रचारलाई चिर्दै लगानी सम्मेलन आयोजना गरेको त्यो सम्मेलनमा करिब दुई खर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त कार्यान्वयनका चरणमा जानु महत्वपूर्ण उपलब्धि भएको उनले उल्लेख गरेका छन् । पर्यटन वर्ष घोषणा तथा पदमार्ग निर्माणमार्फत पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने प्रयास भइरहेको शुभकामना सन्देशमा उल्लेख छ। सडक सञ्जाल विस्तार र पुल निर्माणलाई प्राथमिकतामा राखिएको तथा कोरोना कालमा प्रभावकारी काम गर्दै जनताले अनुभूति गर्ने सरकारको रूपमा प्रदेश सरकारले भूमिका निर्वाह गरेको उनले बताए ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारलाई देखिने, सुन्ने र अनुभूति गर्न सकिने सरकारका रूपमा विकास गर्दै जनताको सरकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
