विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गफ र भाषणभन्दा श्रम र कामको राजनीति आवश्यक रहेको बताएका छन्।
आज विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले देश निर्माण गफले होइन, इमानदार श्रमले मात्र सम्भव हुने स्पष्ट पारे।
उनले भने, “देश गफले होइन, कामले बन्छ। ठगी गरेर होइन, पसिना बगाएर बन्छ।”
समाजमा सत्य बोल्ने र सुन्ने संस्कृतिको विकास हुनुपर्ने उल्लेख गर्दै उनले राम्रो कामलाई राम्रो र नराम्रो कामलाई नराम्रो भन्न सक्ने साहस आवश्यक रहेको धारणा राखे।
उनका अनुसार देशलाई भ्रम र भाषणले होइन, माटोमा पसिना बगाउने श्रमिकको सम्मानले अगाडि बढाउन सकिन्छ।
“श्रम नै शक्ति हो, श्रममै विश्वास गर्नुपर्छ,” उनले भने, “काम नगर्ने र गफ गर्ने प्रवृत्तिलाई ठूलो मान्ने सोच बदलिनुपर्छ।”
विदेशी ऋण लिएर विकासको देखावटी काम गर्ने प्रवृत्तिको आलोचना गर्दै उनले आफ्नाे समूह श्रम र साधनको प्रयोगबाट देश बनाउने पक्षमा रहेको बताए।
“हामी सहकारी ठगी गरेर, सिंहदरबार जलाएर आएका होइनौं। माटो र ढुंगा बोकेर आएका हौं,” उनले भने।
कार्यक्रममा भीड धेरै नभए पनि उपस्थितहरू ध्यानपूर्वक उनको भनाइ सुनिरहेका थिए। उनले मोरङका मतदातालाई श्रम र पारदर्शिताको राजनीतिलाई समर्थन गर्न आग्रह गर्दै सक्षम र इमानदार उम्मेदवारलाई जिताउन आह्वान गरे।
विराटनगर जस्तो ऐतिहासिक र राजनीतिक चेतनायुक्त सहरले सकारात्मक परिवर्तनको सन्देश दिन सक्ने विश्वास व्यक्त गर्दै उनले श्रम संस्कृति निर्माण गर्ने नीति आवश्यक रहेको बताए।
