सुजता लिम्बू

आइतबार, फाल्गुण २४, २०८२

विराटनगर । हरेक वर्ष मार्च ८ का दिन अन्तर्राष्ट्रिय नारी दिवस आउँछ । मञ्चहरूमा समानता र सशक्तिकरणका ठूला–ठूला नारा गुञ्जिन्छन् । तर, ती नाराहरूले एउटी आमाको मुटुभित्रको छटपटी र समाजले उनीहरूमाथि गर्ने निर्मम प्रहारलाई कति बुझ्न सकेका छन् ? यो प्रश्न यसपटक मलाई नराम्रोसँग बिझिरहेको छ ।

हालै सम्पन्न निर्वाचनमा युवा नेत्री रञ्जु दर्शनाले सुत्केरी अवस्थामा आफ्नो नवजात शिशुलाई छातीमा टाँसेर मतदान स्थल जाँदै गरेको तस्बिर भाइरल भयो । यसअघि गर्भावस्थामा ठूलो पेट बोकेर मतदाताको घरदैलो गर्दा पनि उनी चर्चा र कतिका लागि मजाककी पात्र बनेकी थिइन् ।

एकातिर आफ्नो नागरिक दायित्व र अर्कोतिर आमाको ममतालाई सँगै बोकेर हिँडेकी रञ्जुको त्यो दृश्य देख्दा मलाई गर्व लागेको थियो । तर, सामाजिक सञ्जालमा जब मैले कैयौं मानिसले त्यसलाई ’राजनीतिक स्टन्ट’ भनेर खिसिट्युरी गरेको देखेँ, मेरो मन अत्यन्तै अमिलो भयो । एउटी आमाले आफ्नो बच्चा नछाडी आफ्नो कर्तव्य पूरा गर्न खोज्नु कसरी ‘स्टन्ट’ हुन सक्छ ?

विडम्बना के छ भने, हाम्रो समाजमा महिला हरेक पाइलामा हास्यको पात्र बन्छिन्, जबसम्म टिप्पणी गर्ने व्यक्ति आफैं त्यो अवस्थाबाट गुज्रिँदैन । भर्खर जन्मेको बच्चालाई एउटी आमाले आफ्नो आँखाबाट एकछिन पनि ओझेल पार्न चाहन्नन् । परिवारका अन्य सदस्यले जतिसुकै मायाले हेरिदिए पनि एउटी सुत्केरी आमाको मनले पिटिक्क चित्त बुझाउँदैन । बच्चा आफ्नै काखमा होस्, आफ्नै सासको न्यानोमा होस् र आफ्नै नजरको अगाडि होस् भन्ने लाग्छ ।

आमाको छाती बच्चाका लागि कति सुरक्षित हुन्छ र त्यहाँ कति गहिरो शान्ति हुन्छ भन्ने कुरा महसुस गर्न कि त आमा नै बन्नुपर्छ, कि त त्यो गहिराइ बुझ्ने बाबु। रञ्जुले भोट हाल्न जाँदा बच्चा बोक्नु उनको रहर वा देखावटीपन थिएन । त्यो त सन्तानलाई आफूबाट एकछिन पनि टाढा राख्न नसक्ने एउटी आमाको विशुद्ध मनोवैज्ञानिक अवस्था र दायित्वप्रतिको निष्ठा थियो ।

समाजको यो निर्मम टिप्पणी र रञ्जुले भोगेको मानसिक प्रहार देख्दा म मेरो आफ्नै विगतको पानामा फर्किएँ । मलाई झलझली याद छ, मैले एसएलसी परीक्षा दिँदा मेरो गर्भमा ५ महिनाको सानी छोरी हुर्किरहेकी थिइन् । एउटी गर्भवती महिला परीक्षा हलमा प्रवेश गर्दा त्यहाँका सबै आँखा मैमाथि गडेको जस्तो अनुभूति मलाई हुन्थ्यो । मानिसहरूका ती नजरमा सम्मान होइन, एकप्रकारको अनौठो र बिझाउने भाव हुन्थ्यो ।

हाम्रो समाज कामकाजी महिला र आमाहरूको हकमा कति क्रूर र दोहोरो चरित्रको छ भन्ने कुरा विभन्न घटनाले प्रमाणित गर्छन् ।

त्यही बेला चिनेजानेकै मान्छेहरूले मलाई गिज्याउँदै भनेका थिए, ‘ख्याल गर है, परीक्षा दिँदादिँदै बच्चा झर्ला नि ।’ एउटी गर्भवती महिला, जो आफ्नो भविष्य र शिक्षाका लागि संघर्ष गरिरहेकी छे, उसलाई समाजले दिने हौसला यही थियो । त्यो वचनले मेरो मन कति खल्लो भएको थियो होला, तर म मौन रहेँ । मैले ती तमाम विषालु कुराहरूलाई चुपचाप सहेर परीक्षा दिएँ। नतिजा आयो– मैले राम्रो अंकसहित एसएलसी पास गरेँ ।

त्यो कठिन समयमा मलाई लड्न सक्ने तागत मेरो परिवारले दिएको थियो । बा–आमा र मेरो भाइले मलाई त्यो बेला जुन दर्बिलो साथ दिए, त्यसैले मलाई ढल्न दिएन । एउटी महिलाको लागि परिवारको साथ कति शक्तिशाली हुँदोरहेछ भन्ने कुरा मैले त्यही बेला महसुस गरेकी हुँ । समाजले जतिसुकै गिज्याए पनि, यदि परिवार पछाडि उभिएको छ भने महिलाले संसार जित्न सक्छिन् ।

तर, संघर्ष त्यहाँ पनि कहाँ सकियो र ? बच्चा जन्मिएपछिको लडाइँ झन् फरक थियो । म कम्प्युटर सिक्नका लागि मेरी बाल्यकालकी साथी प्रजिनाकोमा जान्थेँ। घरबाट निस्कने बेला मेरो काखको सानो बच्चा मलाई जान नदिएर रुन्थ्यो । जब म सम्झाएर निस्कन खोज्थेँ, मेरो बच्चा आफ्नो सानो र रुन्चे स्वरमा भन्थ्यो, ‘थु…जा ममी, म बोल्दिनँ !’

बच्चाको त्यो एउटा वाक्यले मेरो छाती कति भक्कानिन्थ्यो, पाइला कति गह्रौं हुन्थे, त्यो मलाई मात्र थाहा छ । म मलिन अनुहार लिएर बाहिर निस्कन्थेँ, किनकि मलाई केही सिक्नु थियो, आफ्नो खुट्टामा उभिनु थियो । बच्चाको मायालाई आमासँग घोडेर साथीले देखाएको बाटो नहिँडेको भए सायद मेरा औँलाहरु कम्प्युटरको किबोर्डमा हुन्न थियो होला । त्यसैले सायद, बच्चा बोकेर हिँड्दा रञ्जुको मनमा पनि त्यस्तै हुरी चलेको हुँदो हो। नजाऊँ कर्तव्यबाट चुकिने, जाऊँ काखको सन्तान रुने ।

आज म मेरी साथी बिनु तिम्सिनालाई देख्छु । उनी पेसाले रिपोर्टर हुन् । काखको सानो छोरो परिवारको जिम्मा लगाएर उनी बिहानैदेखि समाचारको खोजीमा दौडिरहेकी हुन्छिन् । फिल्डमा हिँड्दै गर्दा उनको अनुहारमा बच्चाको यादले ल्याउने उदासीभन्दा कामप्रतिको अदम्य लगाव झल्किरहेको हुन्थ्यो । के बिनुले आफ्नो करियर र परिवार धान्नका लागि गरिरहेको त्यो दौडधुप ‘स्टन्ट’ हो ? पक्कै होइन ।

हाम्रो समाज कामकाजी महिला र आमाहरूको हकमा कति क्रूर र दोहोरो चरित्रको छ भन्ने कुरा यी घटनाले प्रमाणित गर्छन् । ५ महिनाको गर्भ बोकेर परीक्षा दिन जाँदा समाज बच्चा झर्ला है भनेर गिज्याउँछ । अनि रञ्जु दर्शनाले जस्तै बच्चालाई छातीमा टाँसेर सार्वजनिक स्थलमा गयो भने देखाउन ल्याई, स्टन्ट गरी भन्छ । आखिर एउटी आमाले गर्ने के ? के आमा भएपछि महिलाले आफ्नो पहिचान, शिक्षा, करियर र दायित्व सबैलाई घरको चुलोमै होमिदिनु पर्ने हो ?

नारी दिवसमा हामीले बुझ्नुपर्ने सबैभन्दा ठूलो कुरा यही हो । मञ्चबाट दिइने खोक्रो शुभकामना भन्दा बढी, ती आमाहरूको साहसलाई हामीले सलाम गर्न सक्नुपर्छ, जो सन्तानको माया, समाजको प्रहार र आफ्नो कर्मको बीचमा दिनहुँ पिसिएर पनि मुस्कुराइरहेका छन् ।

र अत्यामा समाजको प्रहार सहेर सफलता चुम्ने, सन्तानको प्रेममा डुबेर बच्चा छातीमै टाँस्ने, अनि सन्तानको आमासँगै बस्ने चाहानाहरुलाई दबाएर कामको मैदानमा उत्रिने र आफ्नो पाइला अघि बढाउने सम्पूर्ण साहसी आमाहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ! तपाईँहरूको यो संघर्ष कुनै स्टन्ट होइन, यो जिन्दगीको सबैभन्दा सुन्दर, पवित्र र शक्तिशाली लडाइँ हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा