सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता जारी छ ।
नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले आफ्नो अग्रतालाई कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अर्जुनकुमार कार्की र रास्वपाका मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
सोमबार बिहान सम्मको मतगणनामा अर्जुनकुमार कार्कीले १० हजार ९ सय ९७ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले १० हजार ५ सय ५ मतले पछ्याय रहेका छन् ।
एमालेका कार्की र (रास्वपा) का शेर्पाबीचको ४ सय ९२ मतान्तर रहेको छ । पछिल्लो मत गणना अनुसार रास्वपाका शेर्पाले ३ सय ७३ मत घटाएका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले ८ हजार ३ सय ३७ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।
श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ६ हजार ६ सय ७२ मतका साथ चौथो स्थानमा छन् । भने नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले २ हजार २ सय ५४ मत प्राप्त गरेकी छन् ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा हालसम्म ४१ हजार ७ सय ४५ मत गणना भइसकेको छ । भने २ हजार ५ सय २ मत बदर भएको छ । मत गणनाको अन्तिम परिणाम भरे साँझ सम्म आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गणना जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसो देखि जारी छ । गणना स्थलमा सिसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको छ ।
मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् ।
