विगत तीन दिन यता करिब हजार जनासँग फोनमा कुरा भयो । त्यति कै संख्यामा म्यासेज हेरेको छु । त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनु भएको छ । कुराकानीका क्रममा सुझाव, टिप्पणी, विरोध, आक्रोश, हतासा, निराशा, सम्भावना, उपाय, दृढता, जोसलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु । बोल्नु पर्यों, पहल लिनु पर्यो भनेर प्रेरणादायी अनि दबाबयुक्त कुरा पनि सुनेको छु । विस्तृतमा केही दिन पछि भन्ने छु । अहिलेलाई मेरा प्रारम्भिक विचार ः
१. निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वाङ्गीण रूपान्तरण मार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनु पर्दछ ।
२. मूलतः भाद्र २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन् त्यसमा करेक्सन गरौँ भनेर हामीले नेतृत्व र सिंगो पार्टी पंतिलाई बैठक, भेटघाट र महाधिवेशन मार्फत पटक पटक अनुरोध गर्यौ तर सफल भएनौ । अब पुनः छलफल र बहस खुला गर्नु पर्दछ ।
३. हरेक सार्वजनिक संस्था/ सङ्गठनमा जिम्मेवारी र जबाफदेहिता अहम् महत्वको सवाल हुने गर्दछ । नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदार बोक्नु पर्दछ । त्यस पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्दछ । यो सबैको जबाफदेहिता फेरी पनि प्रमुख नेता कै रहन्छ । सफलता वा असफलता पछिको जबाफदेहिताको कार्यान्वयन कसरी हुन्छ ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नु पर्दछ ।
४. पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिंगो पार्टीको असफलता हो । सामूहिक बुद्धि/विवेक र सामूहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थः म सबै नेता कमरेडहरू र सिंगो पार्टी पंतिलाई हिजोका गुट (समूह) का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु । साथै पार्टी, जनसङ्गठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरूलाई आफ्ना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्दछु ।
५. कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ । सही नीति, सही सङ्गठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फत हामी उठ्ने छौ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरी उठाउने छौ । संयम र धैर्यताकारसाथ पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ्न र आत्म भत्र्सना होइन आत्मसमिक्षाको बाटोमा हिड्न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।
६. राजनीतिक दल एउटा सार्वजनिक संस्था हुनुको नाताले नेकपा एमालेका बारेमा आफ्ना सुझाव, आलोचना र टिप्पणीहरू पठाउन समस्त बुद्धिजीवी मित्रहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
७. अन्तमाः राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा बाम– लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो । यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक बिचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि सबैमा अपिल गर्दछु ।
