काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले ५ जना प्रतिनिधिसभा सदस्यलाई सम्मान गर्ने भएको छ ।
ताप्लेजुङमा जन्मिएका र पुर्ख्यौली घर भएका गत फागुन २१ मा सम्पन्न निर्वाचनमा विजयी र समानुपातिक पाँच जना सांसदलाई सम्मान गर्ने निर्णय भएको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए ।
सम्मानित हुने सांसदहरूमा क्षितिज थेबे, यज्ञमणि न्यौपाने, गीता लिङदेन, रमेश प्रसाईँ र मिग्मा ग्याबू शेर्पा रहेका छन् ।
थेबे ताप्लेजुङका विजयी भएका हुन् भने न्यौपाने मोरङ–२ बाट निर्वाचित सांसद हुन् । यस्तै लिङदेन कांग्रेसबाट समानुपातिक बनेकी छिन् भने, प्रसाईँ र शेर्पा रास्वपाका समानुपातिक सांसद हुन् ।
उनीहरूलाई मंगलबार (भोली) काठमाडौंको बागबजारमा रहेको होटेल हार्दिकमा एक कार्यक्रमका बिच बधाई दिनुको साथै सम्मान गरिने केन्द्रका महासचिव अशोक प्यासी राईले बताए ।
ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं, ताप्लेजुङमा जन्मिएका, पुर्ख्यौली घर भएका तथा ताप्लेजुङसँग भावनात्मक सम्बन्ध राख्ने व्यक्तिहरूको साझा, गैर नाफामूलक सामाजिक संस्था हो । यस केन्द्रले ताप्लेजुङको समग्र विकास, सामाजिक एकता तथा आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
