सुजता लिम्बू

सोमबार, चैत्र ३०, २०८२

विशेष कामले काठमाडौँ पुगेको समय थियो । कात्तिक अन्त्यतिर कथाकार सुरेश यक्सोको कथा संग्रह ‘पेनिबा’ विमोचनको तयारी चलिरहेको रहेछ । म काठमाडौँ जाँदा ललितपुरस्थित कवि सीता तुम्खेवासँगै बस्ने गर्छु । संयोगवश विमोचन कार्यक्रमको संयोजक पनि उहाँ नै हुनुहुन्थ्यो । त्यसैले पूर्व फर्किने कार्यक्रमलाई केही समय थाँती राखेर म विमोचन कार्यक्रममा सहभागी हुने मनसायका साथ बसेँ ।

कात्तिक ५ गते विमोचन कार्यक्रम तय भएको थियो, जहाँ कवि, मुन्धुमी लेखक बैरागी काइँला, लेखक तथा कवि बिना थिङ, तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङ लगायतको गरिमामय उपस्थिति थियो । मलाई साहित्यमा रुचि भएकाले र त्यसमा पनि लिम्बू परिवेशमा आधारित कथा संग्रह आएकाले भावनात्मक हिसाबले पनि कार्यक्रमले तानेको थियो ।

पुस्तकको आवरण र नाम हेर्दा सुरुमा मलाई लागेको थियो, यसले लिम्बू समुदायको कुनै गम्भीर राजनीतिक मुद्दा वा उत्पीडनको विषय उठाएको होला । तर, पुस्तकको नाम त कुनै एउटा कथाको पात्रसँग जोडिएको रोचक किस्सा पो रहेछ ! लिम्बू भाषामा ‘पेनिबा’ भन्नाले आर्य समुदायलाई बुझिन्छ । त्यसैले आर्य समुदायको प्रभावमा हुर्किएको लिम्बू पात्रले भोगेको थिचोमिचोको कथा होला भन्ने अनुमान गर्नु नौलो थिएन ।

तर, वास्तविकता अर्कै रहेछ । लिम्बू समुदायको पवित्र धान नाच नाच्ने क्रममा गाइने पालम बुझिएन भने सोल्टिनीले ठट्टा गर्दै भन्दा रहेछन्, ‘यक्थुङम्बा सोल्टी भनेको त पेनिबा (खस–आर्य) को पो हात समातेछु कि क्या हो हउ ?’ यही रमाइलो सन्दर्भबाट पुस्तकको नाम पेनिबा राखिएको रहेछ ।

धान नाच एउटा यस्तो पवित्र नाच हो, जहाँ माइतीहरूको अगाडि साइनो नलाग्ने सोल्टी (पाहुना) सँग नाचिन्छ । कथा पढ्दै जाँदा कता–कता आफूलाई पनि पालमको मर्म नबुझ्ने लिम्बुनि पात्रका रूपमा अनुभूत गरेँ ।

नरोजेको बाटो कथामा एउटी महिलाको संवेदनशीलता र परदेशी श्रीमानको पर्खाइमा रहेकी श्रीमतीको पीडा चित्रण गरिएको छ । समाज र परिवारले लगाउने गिद्धे दृष्टिका कारण कसरी एउटी महिला आफ्नो घर छोड्न बाध्य हुन्छिन् भन्ने वर्तमान समाजको तितो यथार्थ यसमा देखिन्छ ।

हुन त कथाकारले कथामा उपयुक्त पात्रहरू उभ्याएका छन्, तर पढ्दै जाँदा ती पात्र र अनुभव लेखक स्वयंकै पो हुन् कि जस्तो भान हुन्छ । किताबका पानाहरूमा बुनिएका घटनाहरू कतिपय अवस्थामा आफ्नै जीवनमा भोगेका जस्ता लाग्छन् ।

संग्रहका १५ वटा कथामा धनकुटा जिल्लाको एउटा भूगोल, त्यहाँको संस्कार र संस्कृति मात्र छैन, प्रेम र बिछोडका गहिरा पीडाहरूलाई पनि कथाकारले चटपटे शैलीमा प्रस्तुत गरेका छन् । पेनिबा शीर्षकमै लेखिएको कथाले एउटा महत्त्वपूर्ण सन्देश प्रवाह गरेको छ । आफ्नो भाषा र संस्कृतिबाट अलग हुँदा मान्छेले भाषा मात्र होइन, आफ्नो अस्तित्व नै गुमाउनुपर्छ ।

नरोजेको बाटो कथामा एउटी महिलाको संवेदनशीलता र परदेशी श्रीमानको पर्खाइमा रहेकी श्रीमतीको पीडा चित्रण गरिएको छ । समाज र परिवारले लगाउने गिद्धे दृष्टिका कारण कसरी एउटी महिला आफ्नो घर छोड्न बाध्य हुन्छिन् भन्ने वर्तमान समाजको तितो यथार्थ यसमा देखिन्छ ।

यस्तै, नोटबुकः एक रहस्य मा मनोवैज्ञानिक प्रभावलाई उधिनिएको छ । उहिले लाहुर हिँडेको समय, धनकुटा–धरानको उकालो र पल्टनको पर्खाइमा चोखो प्रेम बोकेर डाँडा काट्ने उमेरसम्म एक्लै बाँचिरहेकी एउटी महिलाको भावनात्मक सम्बन्धलाई कथाकारले निकै मिठो ढङ्गले पस्किएका छन् ।
समग्रमा, कथाकारले कथालाई धनकुटाको पृष्ठभूमिमा मात्र सीमित राखेका छैनन्, उनले विदेशको परिवेश र गाउँघरको सामाजिक मनोविज्ञानलाई समेत सुन्दर ढङ्गले समेटेका छन् ।

मलाई एउटा कुरा भने अलिकति खट्कियो पुस्तकको आवरण । पेनिबा नाम र लिम्बू सांस्कृतिक पहिरनमा सजिएकी महिलाको तस्बिरले पाठकलाई सुरुमा अलिकति झुकाउन सक्छ कि जस्तो अनुभूति हुन्छ । बाँकी कुरा, एक समीक्षक भन्दा पनि एक सामान्य पाठकका रूपमा भन्नुपर्दा, कथाहरू काल्पनिक भन्दा पनि यथार्थको धरातलमा उभिएका लाग्छन् ।

कथा पढ्दै जाँदा कतिपय ठाउँमा त कथाकार आफैँ कथाको पात्र पो हुन् कि भन्ने भान भइरहन्छ । यो कथाको समीक्षा भन्दा पनि पुस्तक पढिसके पछिको मेरो एउटा सानो अनुभूति हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा